राष्ट्रपति पुटिनको कार्यालय भन्छ: रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न पाउँदैनन्

n5658810501702728459391e7fc553ab92559d27c8c9ea1ec0b86abff7cef4d52bfe299c50ab4c9a96b7710.jpg

काठमाडौं: नेपाल सरकारले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिकहरूलाई तत्काल फर्काउन माग गरिरहँदा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले नेपालीहरू त्यहाँको सेनामा कार्यरत रहेको र हताहत भएको भन्नेबारे ‘कुनै जानकारी’ आफूसँग नभएको जनाएको छ।रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीले सोधेको प्रश्नमा जबाफ दिँदै त्यसो भनेको हो।
केही दिनअघि मात्रै नेपालका प्रधानमन्त्रीले झन्डै २०० जना भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको हुनसक्ने बताएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही नेपालीहरू युक्रेनी सेनामा कार्यरत रहेको पनि सूचना प्राप्त भएको बताएका थिए।नेपालको परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जना नेपालीको निधन भएको भन्दै तीनको शव यथाशीघ्र नेपाल पठाउन र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो।रुसी राष्ट्रपति कार्यालयको प्रतिक्रिया के छ? नेपालको परराष्ट्र मन्त्रालयले क्रेम्लिनलाई एउटा कूटनीतिक नोट पठाउँदै परम्परागत रूपमा सम्झौता भएका देशहरूबाहेक अन्य देशहरूका सेनामा नेपाली नागरिकहरूलाई भर्ना हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको उल्लेख गरेको थियो।उक्त कूटनीतिक नोटमा नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुस सरकारसँग माग गरिएको छ।इमेलमार्फत पठाइएका प्रश्नको जवाफ दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले भनेको छ, “यो विषयबारे हामीलाई कुनै पनि जानकारी छैन। विदेशीहरू रुसी सेनामा सेवा गर्न पाउँदैनन्।”बीबीसी न्यूज नेपालीले सोही प्रकृतिका प्रश्नहरू काठमाण्डूस्थित रुसी राजदूतावासलाई पठाएको भए तापनि तीनको जवाफ भने आएको थिएन।
‘रुसी सेनाले नै स्वीकार गरेको हो’
नेपाली नागरिकहरू आफ्नो सेनामा रहेको विषय रुसको सेनाले नै स्वीकार गरेको नेपाली अधिकारीहरू बताउँछन्।डेढ साताअघि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति रुस युक्रेनबीचको लडाइँका क्रममा रुसको पक्षबाट लड्दा ज्यान गुमाएका ६ जना नेपालीको नाम र ठेगाना समेत उल्लेख गरिएको थियो।मस्कोस्थित नेपाली राजदूत मिलनराज तुलाधरले नेपालीहरू “त्यहाँ गएको र उनीहरूको मृत्यु भएको” भन्ने खबर आफूहरूले पाएको बताउँछन्।
“रुसको सेनाबाट नै त्यो जानकारी पाएका हौँ। त्यही भएर छैन भन्न मिल्दैन। बाँकी सूचना चाहिँ हामीले लिन खोजिरहेका छौँ,” उनी भन्छन्।
“स्वेच्छाले हामी रुसी सेनामा भर्ना हुन्छौँ भनेर उनीहरू यहाँ आएका हुन्।”रुसी सेनामा हाल कति नेपाली कार्यरत छन् भन्ने सङ्ख्या थाह नभएको राजदूत तुलाधरले बताए।
नेपालले पठाएको भनिएको कूटनीतिक नोटको क्रेम्लिनबाट कुनै जवाफ नपाइसकेको अधिकारीहरू बताउँछन्।ज्यान गुमाएका भनिएका ६ नेपालीहरूको शव फिर्ता ल्याउने प्रयास गरे पनि खासै प्रगति नभएको सङ्केत राजदूत तुलाधरले गरे।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीको रिहाइका लागि पनि पहल भइरहेको जनाएको थियो।
नेपालको प्रधानमन्त्री कार्यालय के भन्छ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, “रुसी सेनाको तर्फबाट नेपाली दूतावासलाई नै सम्बोधन गरेर केही मारिए भनेर चिठ्ठी आयो। त्यसपछि नेपालले त्यहाँ कति छन् सबैलाई फिर्ता पठाउनु भनेर कूटनीतिक नोट पठाएको हो।”उनले अहिले अध्ययन वा भ्रमण भिसामा गएका व्यक्तिहरू पनि रुसी सेनामा भर्ना भएको सूचना आएको उल्लेख गर्दै त्यसलाई कडा गर्ने नीति सरकारले लिएको जनाए।”केही मारिएकै व्यक्तिहरू…भ्रमण वा अन्य काममा गएका थिए। नेपाल सरकार र रुसबीच छात्रवृत्तिको कोटा भनेर जुन सम्झौता भएको छ, त्यो बाहेक सबै किसिमका भ्रमण भिसाहरू रोक्ने कुरा भएको छ,” आचार्यले थपे।”किनभने ६ जनाको निधन भइसक्यो र अरू पनि सेनामा छन् भन्ने कुरा आयो। यो गम्भीर विषय हो। अहिले विमानस्थलबाटै रोक्ने भन्ने छ।”
यसअघि नेपाल पुलिसले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पठाउन सक्रिय रहेको गिरोहमाथि निगरानी बढाइएको जनाएको थियो।
पुलिदले रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पुर्‍याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय ‘कन्सल्टेन्सी’ को कार्यालयका सञ्चालकसहित १२ जना पक्राउ गरिएको अघिल्लो साता जनाएको थियो।गएको जुनमा नै नेपाली युवाहरू रुसी सेनामा भर्ना भइरहेका विवरणहरू प्रकाशित भएका थिए।त्यसबेला सरकारले रुसी सेनामा नेपालीहरू भर्ना हुन नीतिगत रूपमा नमिल्ने भन्दै त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको थियो।
एउटा त्रिपक्षीय सम्झौता अनुसार भारत र ब्रिटेनको सेनामा भर्ना हुने गरेका नेपाली गोर्खाहरू साहसिक युद्धकलाका लागि विश्वभर प्रख्यात मानिन्छन्।भारतीय सेनाले ल्याएको अग्निवीर नामक नयाँ सैनिक अभियान अन्तर्गत नेपाली युवाहरूको भारतीय गोर्खा रेजिमेन्टहरूमा भर्ना रोकिएका भन्ने विवरणहरू माझ उनीहरू मस्कोको सेनामा भर्ती भएका विवरणहरू आएका हुन्। रुसी राष्ट्रपति कार्यालयले राखेका धारणाले ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउन र रुसी सेनामा आबद्ध भएका भनिएका नेपालीलाई घर फर्काउन सरकारले व्योहोर्नुपर्ने चुनौतीको दायरालाई सङ्केत गर्ने कतिपयले ठानेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *