गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले झुट र अफवाह फैलाएर जनतालाई भ्रमित गर्ने कुटिल चालस्वरूप एसकेएमका कार्यकर्ताहरूले एसडीएफ नेता पवन चामलिङलाई बदनाम गराउने असफल प्रयास गरिरहेको आरोप लगाएको छ। एसडीएफले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएको छ।
विज्ञप्ति अनुसार, ‘भोइस अफ् सिक्किम फेसबुक ग्रुपमा एसकेएमले राजीव राई नामको फेसबुक एकाउन्टबाट हालै ‘पवन चामलिङले २५ वर्षको सरकारकालमा अमेरिकामा रेसोट बनाए, तर पीएस तामाङले चार वर्षमा नाम्ची र सिङ्ताममा अस्पताल बनाए’ भन्दै श्री चामलिङलाई बदनाम गर्ने कुचेष्टा गरेको छ, जसको एसडीएफ पार्टी कडा शब्दमा भर्त्सना र निन्दा गर्दछ।’
यस सन्दर्भमा एसडीएफ पार्टी, दक्षिण सिक्किम, नाम्ची जिल्ला कार्य समितिको तर्फबाट महासचिव प्रशासन एमबी गुरुङले नाम्ची थानामा राजीव राई विरुद्ध प्राथमिकी दर्ता गरेका छन्। प्राथमिकीमा एसडीएफले पुलिस प्रशासनलाई यस प्रकारको झुटो र गलत प्रचार गर्नेहरू विरुद्ध कडाभन्दा कडा कानुनी कार्वाहीको माग गरेको छ।