गान्तोक: भाषा कार्यान्वयन सम्बन्धी एक दिने कार्यगोष्ठी आकाशवाणी गान्तोकमा आयोजन गरियो। यस अवसरमा बोल्दै भारत सरकारको गृह मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्र राजभाषा विभाग, क्षेत्रीय कार्यान्वयन कार्यालयका उपनिर्देशक बद्री यादवले भारतीय संविधानद्वारा हिन्दीलाई राजभाषाको रूपमा ग्रहण गरिएदेखि नै नीतिगत रूपमा क्षेत्रीय आकाङ्क्षाका साथै अङ्ग्रेजीलाई आधिकारिक भाषाको रूपमा उपयोग गर्दै हिन्दीलाई राजभाषाको रूपमा अधिनियमित गर्ने स्थिति नआएसम्म कायम राख्ने चलन जारी रहेको जानकारी दिए।
यसका साथै अनेकतामा एकता रहेको बहुभाषिक विश्वको बृहत् लोकतन्त्रको प्रकृतिलाई ध्यानमा राख्दै हिन्दीलाई राजभाषाको रूपमा प्रोत्साहन क्षेत्रीय भाषाको स्वीकार्यता, मान्यता र प्रोत्साहन गर्दै जारी राख्न आवश्यक रहेको पनि उनले बताए। देशको पूर्वोत्तर भागमा अधिकांश जनमानसले हिन्दी बुझ्ने, यस भाषामा संवाद गर्नसक्ने भएको आधिकारिक पत्राचारमा यसलाई सरल अनि छोटोमिठो सन्दर्भका रूपमा उपयोग गर्न शुरु गरे, सार्वजनिक कार्यालयहरूमा यसलाई प्रोत्साहित गर्न त्यति गाह्रो नपर्ने पनि उनले बताए।
यस कार्यगोष्ठीमा राजभाषा प्रबन्धक, भारतीय खाद्य निगम, इटानगरका सौरभ श्रीवास्तव, आकाशवाणी/ पीआइबी गान्तोकका सहायक निर्देशक डा. इबोम्चा शर्मा, आकाशवाणी गान्तोकका कार्यक्रम प्रमुख विनोदकुमार शर्मा लगायत आकाशवाणी गान्तोकका अन्य अधिकारीले पनि सहभागिता जनाए।