खरसाङ: कोलकोतामा जीटीएको रिभ्यु सभामा गएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवं जीटीए चिफ् एक्जीक्युटिभले कोलकोताबाट नै जीटीएको सभासदहरूको कार्यभार सुम्पेको लिस्ट जारी गरेका छन्। यस अन्तर्गत खरसाङ क्षेत्रमा चुनावमा बिजय बनेका जीटीएको सभासदहरूलाई पनि कार्यभार सुम्पन्दै कार्यकारी सभासदको रूपमा राखिएको छ। यस अन्तर्गत खरसाङ क्षेत्रका सभासदहरूले पनि यसपाली विभिन्न विभागहरू प्राप्त गरेका छन्। यस अन्तर्गत पहिलेबाटै कार्यकारी सभासदको रूपमा घोषणा गरिसकेका खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभासद कल्पना प्रधानलाई महिला अनि बाल विकास विभाग प्रदान गरिएको छ। त्यसरी नै खरसाङको अन्य सभासदहरूमा अनित थापाको नजिकको मानिएको सभासद श्याम शेर्पालाई पावर अनि इनेर्जी लगायत उपभोक्ता विभाग र स्वास्थ्य अनि परिवार कल्याण विभाग प्रदान गरिएको छ। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एंव सोनादा पचेङ समष्टीबाट बिजय बनेका अनोश थापाले सूचना अनि सांस्कृतिक विभाग र सिँचाई विभाग पाएका छन्। खरसाङका अन्य सभासदहरूमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई युवा अनि खेलकूद विभाग लगायत डीआरडीसी आपदा प्रबन्धन विभाग, टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पालाई पर्यटन, पूल र यातायात, सुकना पानीघट्टा समष्टीको सभासद परेस तिर्कीलाई अनुसूचित जाति र जनजाति – बीसीडब्ल्यु अनि मंग्पु लाब्दा समष्टिको सभासद रतन थापालाई सिँचाई, कृषि विकास र जिल्ला सैनिक बोर्ड आदि प्रदान गरिएको छ। यसपाली जीटीए चुनाव जित्ने सभासदहरू सबैलाई कुनै न कुनै विभाग प्रदान गरिएको छ भने खरसाङ क्षेत्रमा बिजय बनेका सभासदहरू प्राय: सबैले विभिन्न विभागहरू प्राप्त गरेका छन्। विभाग त पाए तर काम गर्ने र आफ्नो आफ्नो समष्टीहरूमा विकास कार्यको लागि हरेक सभासदहरूमा चुनौती देखिएको छ।