सोनादा अञ्चलले सम्बर्द्धना कार्यक्रम गर्दै भारतीय पूर्व हकी खेलाडी भरत छेत्रीलाई खस गौरव सम्मान प्रदान गरिने
सोनादा: खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिले यस वर्ष पनि पाचौँ वार्षिक सम्बर्द्धना समारोह आयोजना गर्ने भएकोछ। उक्त सम्बर्द्धना समारोह सोना एग्रिकल्चर फार्म परिसरमा सोनादा भेगका १८ वटा शाखा लगायत केन्द्रीय प्रतिनिधिगण आदिलाई लिएर गरिने तय भएकोछ। उच्च माध्यमिक तथा माध्यमिक परीक्षा लगायत अन्य महत्वपूर्ण परीक्षामा अब्बल दर्जा लिएर सफल हुने नानीहरूलाई पनि सम्मान जनाउनेछ भने साहित्य, खेलकुद, कला, स्वास्थ्य, सेवा आदि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने वरिष्ठ व्यक्तित्वहरूलाई पनि उक्त दिन खस प्रतिभा सम्मान अर्पण गरिनेछ। यस समारोहमा भारतीय पूर्व हकी खेलाडी भरत छेत्रीलाई खस गौरव सम्मान अर्पण गरिनेछ साथै ८० वर्षभन्दा अधिक उमेर भएका खसहरूलाई वरिष्ठ नागरिक सम्मानले अलङ्करण गरिनेछ।उक्त सम्बर्ध्दना कार्यक्रममा जीटीए चिफ अनित थापा लगायत अन्य गण्यमान्य व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ। रंगारङ्ग कार्यक्रम सहित पालन गरिने उक्त समारोहमा सोनादा लगायत अन्य क्षेत्रका खस बन्धुहरूलाई समेत उपस्थित भएर समारोह सफल बनाइदिने अपिल सम्मेलनका सभापति प्रताप छेत्री तथा सचिव राजेन छेत्रीले एक विज्ञप्ति दिएका छन्।