सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रङ्गबुल धोतरीय रङ्गमुक समष्टि अन्तगर्त मुण्डा बाँसघारी बुथको स्व. मदन राई स्मारक भवनमा बुथ स्तरीय समितिद्वारा धन्यवाद ज्ञापनको कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय वरिष्ठ व्यक्ति रूपक राईको अध्यक्षता अनि रङ्गबुल धोतरीय रङ्गमुक समष्टिका सभाषद तथा डिप्टी चियरमेन ( जीटीए) राजेश चौहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय युवा शक्ति, नारी शक्ति तथा स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त धन्यवाद सभामा युवा शक्तिबाट शेखर राईले स्वागत मन्तव्य राख्ने क्रममा चुनाउको समयमा बटुलिएका कतिपय तीता मिठा अनुभवहरुलाई पोखेका थिए अनि भविष्यमा यस क्षेत्रको समग्र विकासमा सम्बन्धित विभागहरुबाट उचित सहयोग पाइनेछ भन्ने आशा व्यक्त गरे। सभामा बुथका सम्पूर्ण मानिसहरुको पक्षबाट २४/२२ बुथका अध्यक्ष/सचिवको बाहुलीबाट अभिनन्दन पत्रद्वारा जीटीएका सभासद तथा डिप्टी चेयरम्यान राजेश चौहानलाई सम्मानित गरिएको छ। सभालाई बुथका सचिव आरसी चामलिङले सम्बोधन गर्दै विगत चुनाउ सम्पन्न गराउँदाको सङ्घर्षबारे जानकारी गराउँदै यस क्षेत्रको सर्वाङ्गीण विकास हुनुपर्ने कुरामा नै जोड दिए। यसरी नै कवि देवचन्द्र सुब्बाले सुन्दर कविता वाचन अनि कवयित्री तथा नारी शक्ति सचिव ममता सुब्बाले पनि आफ्नो सम्बोधन राखिन्। उनले आफ्नो सम्बोधनमा विगतका नेताहरुले चुनाव जितेर गएपछि यस क्षेत्रमा विकास त परै जावोस अनुहारसम्म नदेखाएको तीतो अनुभव व्यक्त गरिन् अनि यसपटक भने राजेस चौहानले भोट जितेर गाउँ गाउँ घुमेर मानिसहरूसँग जोगाजोग गरिरहेको देखेर समष्टिवासीले अब सही नेता पाएको कुरा बताइन्। सभामा सभासद राजेश चौहानले उपस्थित मानिसहरुलाई सम्बोधन गर्दै हाम्रो बाँसघारीलाई राम्रो बाँसघारी बनाउन सबै एकजुट रहनु पर्ने आह्वान गरे। आफूले शब्दमा होइन कर्ममा विश्वास राख्ने भन्दै चुनावमा मत दिने नदिने कसैलाई पनि भेदभाव नगरी सबैलाई एकसाथमा लिएर गाउँको सर्वाङ्गीण विकासमा काम गर्ने कुरा राखे। यहाँको जीवनरेखा मानिने बाटोको अवस्था विगतका व्यवस्थाहरुले अनदेखा गरेको कारण बेहाल छ तर अब उक्त बाटो बनाउने आश्वासन पनि दिएका छन्। सभाका सभाध्यक्ष रुपक राईले अध्यक्षीय सम्बोधनको क्रममा चुनावमा मत दिने सबै सबै ग्रामवासीलाई धन्यवाद दिए। उनले आजसम्म नभएका तथा कतिपय विभागहरूमा रोकिएका कामहरुलाई पूरा गरिनु पर्ने कुरामा जोड दिएका थिए। सभामा धन्यवाद ज्ञापनको क्रममा रङ्गबुल धोतरीय रङ्मुक समष्टि अन्तर्गत मुण्डाकोठी चियाबारी, बुथ नम्बर २४/२२ बुथमा पनि आज नै धन्यवाद कार्यक्रमको आयोजना गरिएको थियो। वरिष्ठ शिक्षक नरबहादुर तोयाको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ महकुमाका सदस्य प्रनेश राई तथा गाउँका वरिष्ठ व्यक्तित्वगण, नारी शक्ति, युवा शक्तिका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रद्युम्न देवानले स्वागत मन्तव्य राख्दै आजसम्म यस क्षेत्र विकशित नहुनुमा विगतका प्रतिनिधिहरुको अकर्मण्यता हो भनी बताए। यसपटक भने समष्टिले सही व्यक्तिलाई जिताएको अनि अबका दिनहरुमा यस क्षेत्रमा बुनियादी विकाशमूलक कामहरु सुचारु चल्ने आशा राखेको बताए। सभालाई सम्बोधन गर्दै सभासद तथा डिप्टी चेयरम्यान राजेस चोहानले यस क्षेत्रको सर्वाङ्गीण विकासमा आगामी दिनहरुमा कुनै जात धर्म पार्टी आदि नछुट्टाई काम गर्ने कुरा राखे। बुथ समितिको तर्फबाट चौहानलाई सम्वर्द्धना पनि जनाए। सभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ शिक्षक नरबहादुर तोयाले पनि यस क्षेत्रको विकासमा जोड दिए। ग्रामवासीलाई धन्यवाद दिँदै शिक्षक तोयाले आगामी दिनहरुमा सबै एक मञ्चमा आएर काम गर्ने आह्वान गरे।