एसकेएम सरकारले चौतर्फी विकास गरेको कृष्ण लेप्चाको भनाइ
गान्तोक: रिन्चेनपोङ समष्टि अन्तर्गत जील यापचुङ रोङकुङमा लेप्चा समुदायको महान पर्व नाम-आल नामसुङ हर्षोल्लासका साथ शुरू भयो। जील रोङगुल रोङकुङ सेजुमद्वारा आयोजित कार्यक्रममा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका राज्यस्तरीय प्रचार-प्रसार सचिव एवम सिक्किम लेप्चा एसोसिएशनका समन्वयक कृष्ण लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि कृष्ण लेप्चाले पार्टी र सरकारको पक्षबाट सम्पूर्ण सिक्किमे जनतालाई लोसुङ-नामसुङ, क्रिसमस र साकेवा पर्वको हार्दिक शुभकामना व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा वर्तमान एसकेएम सरकारले सिक्किमका सबै जाति समुदायलाई समान न्याय र अधिकार दिएको बताउँदै एउटै धागोमा विभिन्न रंङका फूलहरू उनेर राखेजस्तै सबै जातिलाई एक सूत्रमा राख्ने काम वर्तमान सरकारले काम गरेको दावी गरे।

यसैबीच उनले २०२४ को विधानसभा चुनाउको जिकिर गर्दै चुनाउ नजिक आइरहेको र सबैले एसकेएम पार्टीलाई पुनः सत्तामा पुऱ्याउन भारी मात्रामा मतदान दिने सबैलाई अपिल गरे। उनले राज्यमा एसकेएम सरकारले चौतर्फी विकास गरेको दावी गर्दै समाजमा विभिन्न राजनैतिक रंङको हिलो छेप्ने असामाजिक तत्वहरूसँग सिक्किमे जनता होशियार हुनुपर्ने कुरामा जोर दिँदै वर्तमान सरकारलाई अझ जनताको काम गर्ने मौका दिनुपर्ने आग्रह गरे।