खरसाङ: जीटीएको मातृ एंव शिशु कल्याण बिभागको कार्यकारी सभासद एंव पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधानद्वारा आज बिहिबार लंगभ्यु अन्तगर्त बरबटे गाउँमा भ्रमण गरिन्। ग्रामवासीको सुविधालाई मध्यनजर राखेर नै लंगभ्यु दुर्पीनदेखि साई मन्दिरसम्म निर्माण भइरहेको सडक निर्माणको कार्य सम्पन्न हुने सभासद कल्पना प्रधानले जनाइन्। यसको निम्ति उनले विभागीय अधिकारी साथै ठेकेदारसँग पनि बातचीत गर्ने जनाइन्। बरबटे गाउँको जीर्ण अवस्थामा रहेको बाटो मरमत्ति गरिदिने वचन आफुले चुनाव अघि नै दिएको र आफू सभासद भए पश्चात आफ्नो वचन पूरा गर्न सकेकोमा धेरै खुशी रहेको बताइन्। सभासद कल्पना प्रधानले लंगभ्युस्थित बिमेटार गाउँको पनि भ्रमण गरिन्। उनले बिमिटारमा सभालाई सम्बोधन पनि गरिन्। मूल सडकदेखि बिमेटार हुँदै जाने सडक निर्माणको कार्य आउँदो जनवरी महिनाको पहिलो सप्ताहदेखि आरम्भ हुने जनाइन्। सभासदले यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद टक्राइन् अनि ग्रामवासीको पक्षबाट पनि आभार व्यक्त गरिन्। उनले ग्रामवासीलाई आफ्नो गाउँमा निर्माण हुन गइरहेको सडकको निम्ति आफ्नो सानो जग्गा दिन परे खुशी खुशी जमीन दिने अनुरोध पनि गरिन्।

आज सम्पन्न सभामा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जन, सचिव ललित प्रधान, लंगभ्यु संयोजक साथै समिति सदस्य मौसम लामा, पञ्चायत सदस्य निरज डुम्जन, ठेकेदार उत्तम छेत्री, सुरज प्रधान आदिको विशेष उपस्थिति रहेको थियो भनी पंखाबारी लंगभ्यु अम्बटे समष्टीको मिडिया प्रभारी जिनोद परियारले जानकारी दिएका छन्।









