मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि विभाग मिरिकले आज मिरिक थर्बु डुप्टिन समष्टि कृषि विभागका एमओडी सभासद मिलेस राईकाे उपस्थितिमा मिरिक महकुमा क्षेत्रका तीनजना उधमी कृषकहरूलाई सानाे मिल अनि हाते मशिन वितरण गरेको छ। उक्त सामाग्री मिरिक थर्बु डुप्टिन समष्टि कृषि विभागका एमओडी सभासद मिलेस राई, मिरिक महकुमा कृषि सह निर्देशिका विभूती रिजाल, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवासकाे बाहुलीबाट वितरण गरियाे। यस अवसरमा बाेल्दै मिरिक महकुमा कृषि विभागका सह निर्देशिक विभूती रिजालले फार्म मेकानिजम याेजना अन्तर्गत पचास प्रतिशत छूटबाट उक्त सामाग्रीहरू कृषकहरूलाई वितरण गरिएकाे जानकारी गराउँदै केही दिनमा फेरि दसजना कृषकहरूलाई स्प्रे वितरण गरिनेछ भने। तिनले उक्त याेजनाकाे लाभ उठाउने अनुराेध गर्दै हामीले कृषकहरूलाई जानकारी गराएका थियाैं। साेही आधारमा कृषकहरूले आवेदन गरेपछि आवेदन अनुसार सामाग्री वितरण गरिएकाे बताए। यता मिरिक थर्बु डुप्टिन समष्टि कृषि विभागका एमओडी सभासद मिलेस राईले जीटीएले कृषि अनि वागवानीलाई विकसित गर्न धेरै याेजनाहरू हातमा लिएकाे जसमध्ये एउटा फार्म मेकानिजम रहेकाे जानकारी गराउँदै बिहीबार वितरण गरिएकाे सानाे मीलबाट मकै, काेदाे, गहुँ आदिकाे पिठाे बनाउन सक्ने बताए। तिनले पचास प्रतिशत छूटमा उक्त मशिन कृषकहरूलाई उपलब्ध गरिनेछ भन्दै यदि कसैलाई आवश्यक परे आफू लगायत विभागसित सम्पर्क गर्न सक्ने बताए।

तिनले कृषकहरूलाई विभागले पचास प्रतिशत छूटमा ट्याक्टर लगायत कृषि कार्यमा चाहिने अन्य सामाग्रीहरू पनि विभागले प्रदान गर्ने गर्छ भन्दै इच्छुक कृषकहरूले आवश्यकता अनुसार आवेदन गर्न सक्नेछन भने। तिनले भाैगाेलिक दृष्टिकोणले कृषि अनि वागवानीकाे लागि उपयुक्त मानिने मिरिकमा कृषि अनि वागवानीलाई विकसित गर्न जीटीए कृषि विभागले धेरै याेजनाहरू तयार पारेकाे पनि बताए।