पाकिम: पाकिम जिल्ला अन्तर्गत एक नाबालिकामाथि दुष्कर्मको आरोपमा एक जना पक्राउ परेका छन्। पुलिसले जानकारी गराए अनुसार ११ वर्षीय नाबालिकासँग ३९ वर्षे एक पुरूषले बलजफ्ती दुष्कर्म गरेको आरोप छ।
उक्त घटना गत २५ नोभेम्बरमा भएको हो। सोही गाउँका एक ३९ वर्षे ठेकादारले नाबालिकासँग दुष्कर्म गरेको आरोपमा पाकिम जिल्ला पुलिसले पक्राउ गरेको छ।
पीडिताकी कान्छी आमाले पुलिसलाई जानकारी गराए अनुसार, आरोपीले घरमा कोही नभएको मौका छोपेर पीडितासँग बलजफ्ती यौन दुष्कर्म गरेको पुलिसले प्राथमिक रिपोर्टमा उक्त कुरा उल्लेख गरेको छ। आरोपीले यस घटनाबारे कसैलाई पनि नसुनाउने पीडितालाई धम्की दिएको रिपोर्टमा जानकारी गराएको छ। तर यस घटनाको जानकारी पाउनसाथ पीडिताकी कान्छी आमाले साहस देखाउँदै पाकिम थानामा मुद्दा दर्ता गरेपछि पुलिसले आरोपीलाई पक्राउ गर्दै कार्वाही शुरू गरेको छ।
पुलिसले जानकारी गराए अनुसार, आरोपीविरूद्ध पाकिम थानमा प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स (पोक्सो) २०१२ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।