गान्तोक: गान्तोक निवासी रक्तदाता गौरव राजलाई अलिपुरद्वार जिल्ला अन्तर्गत कालचिनीमा आयोजित भव्य समारोहमा प्रतिष्ठित वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तवीर सम्मानले सम्मान जनाइयो।
१४१ रक्तदाताहरूसँगै उनको असाधारण रक्तदानको कदर गर्दै सम्मान जनाइएको हो। सो कार्यक्रममा पाँच शहीदका परिवार, स्थानीय प्रतिभा र सामाजिक कार्यकर्ताहरूलाई पनि सम्मान जनाइएको थियो।
निम्ती चियाबारी एसटी स्पोर्टिङ क्लबद्वारा उक्त कार्यक्रम आयोजना गरिएको थियो। हालसम्म राजले ७५ पटक रक्तदान गरिसकेको र राज्यका मानिसहरूलाई रक्तदान गर्नमा प्रोत्सान पनि उनले दिँदै आइरहेका छन्। आपतकालिन अवस्थामा रगत उपलब्ध गराउने सहयोगका लागि उनी सदैव प्रयासरत देखिन्छन्। यसबाहेक, एक व्यवसायीको रूपमा, उनले विभिन्न सामाजिक सेवा कार्यक्रमहरूमा योगदान दिनको साथै धेरै बालबालिकाहरूलाई शिक्षाको क्षेत्रमा सहयोग पनि पुऱ्याउँदै आएका छन्।
स्वैच्छिक रक्तदाता संघ सिक्किम र अन्य विभिन्न संघसंस्थाको सदस्यको रूपमा गौरव राजले धेरै राष्ट्रिय र राज्य-स्तरीय प्रशंसाहरु प्राप्त गरिसकेका छन्। उनले यो सम्मानलाई अविस्मरणीय क्षण भएको भन्दै आयोजक समितिप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।