धवनको रेकर्डः भारतको ३ रनले रोमाञ्चक जीत

IMG-20220723-WA0101.jpg

२३ जुलाईः भारतले वेष्ट इण्डिज विरुद्ध पहिलो वनडे इण्टरनेशनल म्याचमा ३ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचमा टीम इण्डियाका कप्तान शिखर धवनले ९७ रनको उत्कृष्ट ईनिंग्स खेले। यसको साथै उनी वनडे क्रिकेटमा भारतको तर्फबाट अर्द्धशतक बनाउने सबैभन्दा अधिक उमेरका कप्तान बने। उनले मोहम्मद अजहरुद्दीनको २३ साल पुरानो रेकर्ड तोड़े। यतिमात्र नभएर धवन नर्वस नाइण्टीज-मा सर्वाधिकपल्ट आउट हुने मामिलामा विराट कोहलीभन्दा अघि पुगे। धवनले शुक्रवार राति ३६ साल २२९ दिनको उमेरमा कप्तानको रूपमा अर्द्धशतक बनाए। यसअघि भारतको तर्फबाट सबैभन्दा धेर उमेरमा कप्तानको रूपमा अर्द्धशतक बनाउने रेकर्ड अजहरुद्दीनको नाममा रहेको थियो। अजहरले ८ जून १९९९-मा कप्तानको रूपमा आफ्नो अन्तिम अर्द्धशतक बनाएका थिए। उनले ३६ साल १२० दिनको उमेरमा म्यानचेष्टरमा पाकिस्तान विरुद्ध ५९ रनको ईनिंग्स खेलेका थिए। त्यो म्याच आईसीसी विश्व कपको थियो।

वेष्ट इण्डिज विरुद्ध धवन केवल तीन रनले गर्दा शतक बनाउनदेखि चुके। यसरी उनी आफ्नो वनडे करियरमा छैटौंपल्ट नर्वस नाइण्टीज-को शिकार बने। अर्थात्, छैटौंपल्ट ९०-देखि ९९ रनको स्कोरमा आउट भए। वनडे क्रिकेटमा भारतीय ब्याटरहरूमा सर्वाधिकपल्ट नर्वस नाइण्टीज-को शिकार सचिन तेन्दुलकर भएका छन्। सचिन १७ पल्ट ९०-देखि ९९ रनको स्कोरमा आउट भएका थिए। धवन अहिले सौरभ गांगुलीको बराबरीमा रहेका छन्। यसबाहेक धवनले विराट कोहली र वीरेन्द्र सहवागलाई चाहिँ पछि छोड़ेका छन्। यी दुईजना ५-५ पल्ट नर्वस नाइण्टीज-को शिकार बनेका थिए। धवनले शुक्रवार राति अझ ३ रन बनाउन सकेको भए त्यो वनडे क्रिकेटमा उनको तीन सालपछिको शतक हुने थियो। धवनले यसअघि २०१९-को विश्व कपमा अष्ट्रेलिया विरुद्ध शतकीय ईनिंग्स खेलेका थिए। वेष्ट इण्डिज विरुद्ध पहिलो वनडेमा धवनले ९९ बलमा १० वटा चौका र ३ वटा छक्काको सहायताले ९७ रन बनाए। उनी ३४औं ओभरको चौथो बलमा आउट भए।

म्याचको कुरा गर्दा भारतले पहिलो वनडेमा ३ रनले जीतको साथै तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै भारतले धवन, शुभमन गिल (६४ रन) र श्रेयस अय्यर (५४)-को अर्द्धशतकीय ईनिंग्सको सहायताले ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रनको स्कोर बनायो। गिलले ५३ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। धवन र गिलले पहिलो विकेटको निम्ति १७.४ ओभरमा ११९ रनको साझेदारी गरी भारतलाई असल शुरुवात दिलाए। गिल रन आउट भए। त्यसपछि धवनले श्रेयससँग पनि दोस्रो विकेटको निम्ति ९४ रन योग गरे। श्रेयसले ५७ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। त्यसपछि भारतले नियमित अन्तरालमा विकेट गुमायो। अन्तिम ओभरहरूमा दीपक हूडाले २७ र अक्षर पटेलले २१ रन बनाएर भारतलाई ३०८-को स्कोरसम्म पुऱ्याए। वेष्ट इण्डिजका बलरहरूमा अल्जारी जोसेफ र गुडाकेस मोतीले २-२ विकेट लिए। जवाफमा वेष्ट इण्डिजले सक्दो प्रयास गरे पनि ६ विकेट गुमाएर ३०५ रन मात्र बनाउन सक्यो। ओपनर काइल मेयर्सले सर्वाधिक ७५ रन (६८ बल, १० वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक ब्रेण्डन किंगले ५४ र शामराह ब्रूक्सले ४६ रनको योगदान दिए। कप्तान निकोलस पूरन २५ रन बनाएर आउट भए। अन्तिम ओभरहरूमा अकील होसेनले अविजित ३२ र रोमारियो शेफर्डले २५ बलमा अविजित ३९ रन बनाएर भारतको चिन्ता बढ़ाएका थिए तर मोहम्मद सिराजले अन्तिम ओभरमा उत्कृष्ट बलिंग गर्दै भारतलाई रोमाञ्चक जीत दिलाए। धवनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement