रंगुन: भारतको छिमेकी देश म्यानमार यतिबेला भीषण गृहयुद्धसँग लडिरहेको छ। अवस्था यस्तो छ, देशका सेना समर्थक राष्ट्रपतिले म्यानमारलाई टुक्रा टुक्रा पार्नसक्ने चेतावनी दिएका छन्। म्यानमारको सेना र विद्रोहीबीचको यो लडाइँ अहिले भारतीय सीमामा भइरहेको छ, जसका कारण उत्तर–पूर्वी भारतमा पनि तनाव बढेको छ। यसैबीच, संयुक्त राष्ट्र संघले म्यानमारले अफगानिस्तानलाई विश्वको सबैभन्दा ठूलो अफिम उत्पादन गर्ने देशको रूपमा पछाडि छोडेको खुलासा गरेको छ। सन् २०२२-२३ मा म्यानमारमा १०८० मेट्रिक टन अफिम उत्पादन भएको थियो। एकातिर म्यानमारमा अफिमको उत्पादन बढेको छ भने अर्कोतर्फ अफगानिस्तानमा अफगानिस्तानमा तालिबान शासनमा कडा प्रतिबन्ध लगाइएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनका अनुसार यही कारणले गर्दा म्यानमार विश्वको सबैभन्दा ठूलो अफिम उत्पादन गर्ने देश बनेको छ। हेरोइन लागूऔषध प्रायः अफिमबाट बनाइन्छ। यसैबीच, तालिवानको कडाईपछि अफगानिस्तानमा अफिमको उत्पादनमा उल्लेख्य कमी आएको छ र ९५ प्रतिशतले घटेको छ। यस वर्ष अफगानिस्तानमा ३३० टन मात्रै अफिम उत्पादन भएको प्रतिवेदनले जनाएको छ।
म्यानमार, लाओस र थाइल्याण्डको सिमाना जोडिएको क्षेत्रलाई ‘गोल्डेन ट्रयाङ्गल’ भनिन्छ। यो सिङ्गो क्षेत्र लामो समयदेखि अवैध लागूऔषध उत्पादन र तस्करीका लागि परिचित छ। यसमा विशेष गरी मेथाम्फेटामिन र अफिम पनि समावेश छ। म्यानमारको यस अफिम व्यापारको कुल कारोबार १ अर्ब डलरबाट बढेर २.४ अर्ब डलर पुगेको छ, जुन देशको कुल ग्राहस्थ उत्पादनको १.७ देखि ४.१ प्रतिशतसम्म रहेको छ। गत वर्ष म्यानमारमा ७९० मेट्रिक टन अफिम उत्पादन भएको थियो। सन् २०२१ मा म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि देशको अर्थतन्त्र द्वन्द्व र अस्थिरतासँग लडिरहेको छ। जसका कारण धेरै किसान ठूलो मात्रामा अफिम उत्पादन गर्न बाध्य भएका छन्। यसबाहेक किसानलाई आफ्नो उत्पादन बेच्न बजारको अभाव र तीव्र गतिमा बढ्दो मुद्रास्फीतिले पनि किसानलाई अफिमतर्फ बढी आकर्षित गरेको हुनसक्छ। यो अफिम उत्पादन २० वर्षयताकै उच्च हो। म्यानमारमा पूर्ण सुविधाका साथ अफिम खेती भइरहेको अवस्था छ। किसानले उत्पादन बढाउन मलको प्रयोग गरिरहेका छन्।