काठमाडौं: यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ। दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको हो। यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। आकाश चन्द ४ रनमा अविजित रहे। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्। अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए। अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे।नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे। उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए।उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका हुन्। अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए ।प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो।