खरसाङ: शिक्षा तपाईको द्वार ‘ को नारा लिएर भारतीय मानव अधिकार एसोसिएशन खरसाङले विश्व मानव अधिकार दिवस पालन गरे। भारतीय मानव अधिकार एसोसिएशन, खरसाङ युनिटले विश्व मानव अधिकार दिवस खरसाङको गिद्धे पहाडस्थित गिद्धे पहाड एसएसके पाठशालाका विद्यार्थी, अभिभावक अनि शिक्षक शिक्षिकासँग मिलेर पालन गरेको छ। विश्व मानव अधिकार दिवस विश्वभरी नै डिसेम्बर १० मा मनाइन्छ। विद्यालय छुट्टी रहेको कारण ११ डिसेम्बरमा आज सानो कार्यक्रममाझ दिवस पालन गरिएको बताइएको छ।कार्यक्रममा खरसाङ युनिटका अध्यक्ष सरोज चौहानले स्वागत सम्बोधनमा विश्व मानव अधिकार दिवसको औचित्य अनि भारतीय मानव अधिकार एशोसिएसनको कार्य प्रणालीमाथि आफ्नो विचार राखिन्। एसोसिएशनको राष्ट्रिय अध्यक्ष अनुराग चन्द्रवंशीको निर्देश अनुसार शिक्षाको अधिकारलाई केन्द्र गरेर दिवस पालन गरियो। दिवसको थीम रहेको थियो ‘शिक्षा तपाईको द्वार’। शिक्षक शिक्षिका अनि अभिभावकहरुलाई लिएर एसोसिएशनले स्थानीय स्तरमा शिक्षाको स्थितिमाथि विमर्श गरेको छ। विमर्शलाई एयोसिएशनका सदस्य ज्योति कुमार मुखियाले सञ्चालन गरेका थिए। मुखियाले भने, ” शिक्षाको अधिकार सबै नानीहरूको अधिकार हो। तर यो अधिकार धेरै कारणले हनन् भएको पाउँछौ। कारण आर्थिक, स्वास्थ्य, संसाधनको कमी अनि व्यक्तिगत पनि हुनु सक्छ। त्यही कारणहरू खोज्ने सानो प्रयास हामीले टेन सीड टेक्निक अथवा दस वटा बीजको प्रयोग गरेर हामीले मानिसहरू सँग शिक्षाको स्थिति माथि मूल्यांकन गर्यौ। यो साधारण टेक्निक हो। यसमा भाषण होइन, इन्टररेक्शन हुन्छ।”

टेन् सीड विमर्शको परिणाम कतिपय कारणले गर्दा सार्वजनिक गर्नु नसकिने मुखिया बताउँछन्। रङ, जात, लिङ्ग भेद नगरी सबैले शिक्षा पाउनुपर्छ। सबै नानीले शिक्षा पाउनु नै उनीहरुले न्याय पाउनु हो। नानीहरू अनि अभिभावकहरूलाई मनोरञ्जन गराउन उनीहरूमाझ खेल पनि खेलाईएको थियो। मानव अधिकार एसोसिएशनका सदस्यहरू सर्वर आलाम, मिनोती रोय, भरत छेत्री, सुमित प्रसाद, संगीता प्रधान अनि विद्यालयका शिक्षिकाहरू कञ्चन मोहोरा, रोजी छेत्री, रेखा सुब्बा, सुजाता छेत्रीको उपस्थिति रहेका थिए।