अफगानिस्तानसँग पराजित नेपाल

photocollage_202312102120866.jpg

अफगानिस्तान विरूद्धको आइतवारको महत्त्वपूर्ण खेलमा १९ वर्ष मुनीको उमेर समूहको नेपाली क्रिकेट टोली ७३ रनले पराजित भएको छ।

तर सफलताको दृष्टिकोणले टेस्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तान धेरै अगाडि पुगिसकेको छ।

तर यी दुईबीचको भेट भने सधैँ रोचक हुने गरेको छ। चाहे त्यो राष्ट्रिय टोलीबाट खेल्दा होस् वा उमेर समूहमा। यद्यपि पछिल्लो एक दशकमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन।

यूएईमा जारी एसीसी यू-१९ एसिया कपको दोस्रो खेलमा आइतवार नेपाल र अफगानिस्तानबीच लिग चरणमा भएको भेटको परिणाम पनि उस्तै रह्यो।

अफगानिस्तानले दिएको २६२ रनको चुनौती पछ्याउन नेपाली युवा टोली सफल हुन सकेन।

लगातार दुई खेल हारेपछि नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ। नेपालले अब मङ्गलवार लिगको अन्तिम खेल भारतसँग खेल्नेछ।

उक्त खेल प्रतिष्ठाको लागि मात्र हुनेछ।

खराब ब्याटिङ

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाउँदै २६१ रन बनायो। जवाफमा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन जोड्न सकेको थियो।

युवा टोलीको धरमराउँदो ब्याटिङ नै हारको कारण बन्यो।

२६२ रनको लक्ष्य पूरा गर्न आएका खेलाडीहरू कसैले पनि भरपर्दो इनिङ्स खेल्न सकेनन्।

प्रारम्भिक ब्याटर विपिन रावल पहिलो ओभरमा खाता खोल्न नसकिन आउट भएपछि नै नेपालको विकेट लगातार झर्न थालेको थियो। त्यसपछि सातौं ओभरमा दीपक बोहरा (१५ रन) आउट भए।

कप्तान देव खनाल र सिनियर राष्ट्रिय टोलीका सदस्य गुलशन झा ले पनि जिम्मेवारी इनिङ्स खेल्न सकेनन्।

कप्तान देवले २४ रन बनाउन सके। त्यसपछि उत्तम थापामगर ४ रन तथा आकाश त्रिपाठी (० रन) आउट भए। त्यति बेला नेपालको ५ विकेट झरिसकेको थियो र जम्मा ७९ रन मात्र बनाउन सकेको थियो।

सिनियर राष्ट्रिय टोलीका सदस्य गुलशन झा ले पनि २० बलको सामना गरे। २ छक्का हाने र १७ रन बनाएर बाहिरिए। दीपेश कँडेल पनि ११ रनमा आउट भए।

कुमालको ‘प्रशंसनीय’ सङ्घर्ष

नेपाल खेलको कुनै पनि समयमा लयमा फर्किन नसकेको देखिन्थ्यो।
तर नेपालका लागि तारिफ गर्ने एकमात्र विषय भनेको युवा खेलाडी अर्जुन कुमालले गरेको सङ्घर्ष थियो।
प्रारम्भिक ब्याटर अर्जुनले आफ्ना साथीहरू एकपछि अर्को गर्दै आउट भइरहे तापनि एकतर्फी रूपमा राम्रोसँग जमेर बस्दै निरन्तर रन जोडिरहे। १०८ बल खेल्दै उनले १३ चौका प्रहार गरेर ९१ रन जोड्न सफल भए। ३६औँ ओभरमा अहमद खलेलको बलमा उनले ३ चौका ठोकेका थिए।
४०.१ ओभरमा फारिडोन डावद्जाईको बलमा अर्जुन अन्तिम खेलाडीका रूपमा विकेट किपरबाट क्याच भएसँगै नेपालको इनिङ्स सकिएको थियो।मध्यम बलिङ जम्सिद जर्दानको १०६ रनको शतकीय पारीको मद्दत तथा नुमान शाहको ६० रनको सहयोगले अफगानिस्तानले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर खडा गरेको हो।
टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गर्‍यो ।नेपाली बलरहरूले सुरुआती समयमा राम्रो बलिङ गर्दै विपक्षी अफगानिस्तानलाई दबाबमा राखेका थिए। नेपालबाट सिनियर राष्ट्रिय टोलीमा राम्रो छाप छोड्दै आएका अलराउन्डर गुलशन झाले दोस्रो ओभरमा पहिलो विकेट लिँदै नेपालको लागि राम्रो सुरुआत गराएका थिए। उनले १.५ ओभरमा अफगानी ओपनर वाफिउल्लाह ताराखिललाई कप्तान देव खनालबाट क्याच आउट गराए।
त्यसपछि सातौँ ओभरमा तीव्र गतिका बलर हेमन्त धामीले दुई बलमा दुई विकेट लिएर विपक्षीलाई दबाबमा राखे।सातौँ ओभरको दोस्रो बलमा हेमन्तले १० रन बनाएर खेलिरहेका खालिद तानिवाललाई आउट गरे। गुलशन झाले उनको क्याच समातेका थिए।
त्यसपछिको अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई बोल्ड गरिदिए। ह्याट्रिक नजिक पुगेका उनको तेस्रो बल भने सफल हुन सकेन।त्यतिबेला अफगानिस्तानले ३३ रन मात्र जोड्दा ३ विकेट गुमाइसकेको थियो।तर अफगानिस्तानका जम्सिद जर्दान र रहिमुल्लाह जुर्मातीले ४ विकेटमा राम्रो साझेदारी गर्दै टोलीको स्कोर २८ ओभर सम्ममा ११४ पुर्‍याए।
यी दुईले चौथो विकेटका लागि गरेको ८१ रनको मजबुत साझेदारीलाई २८औँ ओभरको अन्तिम बलमा स्पिनर दिपेश कँडेलले तोडेका थिए।
३५ रन बनाएर खेलिरहेका जुर्मातीको क्याच सुभाष भण्डारीले लिएका थिए।
यद्यपि जम्सिद जर्दानले महत्त्वपूर्ण पारी खेलेर स्कोरबोर्डमा रन रेट बढाउन भूमिका खेलिरहे भने नुमान साहले उनलाई राम्रो साथ दिएका थिए।नुमानले ४१ बलमा ६० रन जोडेर छरितो ढङ्गले रन बढाएका थिए। ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई सुभाषले ४१.४ ओभरमा आउट गर्न सफल भए। यसबेलासम्म अफगानिस्तानले २०० रनको आँकडा पार गरिसकेको थियो।सुभाष भण्डारीले नुमानसँगै ४४औँ ओभरमा मोहम्मद युनिस (२ रन) को विकेट लिएर विपक्षी आक्रमणको गति घटाउने काम गरे।तर जम्सिद जर्दान भने रोकिएन। उनी अन्तिम ओभरमा १०६ रन बनाएर घाइते भएसँगै रिटायर्ड आउट भएका थिए। १५२ बल खेलेका उनले ८ चौका हाने। दुई परिवर्तन नेपालले आजको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको थियो।पाकिस्तानसँगको खेल खेलेका ब्याटर विशाल विक्रम केसी र स्पिनर तिलक राज भण्डारी बेन्चमा रहे। उनीहरूको स्थानमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई टिममा राखिएको थियो।नेपाल पहिलो खेलमा पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएको थियो। दुवै टोली ७ विकेटले पराजित भएका थिए।८ एसियाली राष्ट्रबीच भइरहेको प्रतिस्पर्धामा समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान तथा समूह ‘बी’ मा आयोजक युएई, बाङ्ग्लादेश, श्रीलङ्का र जापान छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement