गेजिङ: पश्चिम सिक्किम गेजिङ बर्मेक निर्वाचन क्षेत्रको बर्मेक महात्मा सिरिजङ्गा सरकारी उच्चतर माध्यमिक विधालयको आयोजनामा आज विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव साथै बाल दिवस कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
यस अवसरमा मन्त्री लोकनाथ नेपालले विद्यालयको नवनिर्मित पुस्तकालय साथै विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयलाई सुम्पिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लोकनाथ नेपालले वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिँदै विभिन्न विकासका पूर्वधारको निर्माण गरेको अवगत गराए।
महात्मा सिरिजङ्गा वरिष्ठ माध्यमिक विद्यालय बर्मेकलाई हेर्नु हो भने वर्ष २०१९ यता यस विद्यालयले काँचुली फेरेको उनले दावी गरे। यस अघि पनि बर्मेक स्कूलले धेरै उन्नति गरेकै हो, तर स्कूलप्रति पूर्व सरकारको पर्याप्त दृष्टि नपरेको मन्त्री नेपालले किटान गरे। यद्यापि, वर्ष २०१९ मा राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको आशिर्वाद, परिकल्पना र सकारात्मक विचार कुशल नेतृत्व क्षमताले यो विद्यालयले प्रगतिको गरेको बताए।

यस विद्यालयमा सबै विषयमा पढाउन थालेको जानकारी गराउँदै ग्रामीण क्षेत्रमा अवस्थित यस विद्यालयमा डिजिटल शिक्षा पनि विकसित भएको जानकारी गराए। यो विद्यालयलाई महात्मा तियोङ्सी सिरिजङ्गाको स्मरणमा नामाकरण गरि सँधैको निम्ति महात्मालाई जीवित राखिने काम गरेको उनले बताए। अहिले बर्मेक विद्यालयमा भौतिक पूर्वाधारको विकाससँगै विद्यालयको पूर्ण आकार परिवर्तन भएको मन्त्रीले अवगत गराए।