गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज जिल्ला आपदा प्रबन्धन प्राधिकरण राज्यमा प्रकृतिक प्रकोपपछि आवश्यकता मूल्याङ्कन गर्ने उद्देश्यले केन्द्रिय विशेषज्ञ टोलीसँग बैठक गरे।
यस अवसरमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका विशेष सचिव प्रभाकर राई, एडीसी राधा प्रधान, एडीसी मिलन राई लगायत अन्यहरूलाई लिएर बैठक गरे।
गान्तोक जिल्लाका पीडीएनए टोलीसँगै केन्द्रिय टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै प्रकृतिक प्रकोपको कारण भएको क्षतिको मूल्याङ्कन गरे। यस दुई दिवसीय सर्वेक्षणको उद्देश्य उनीहरूको भ्रमणबाट प्राप्त अवलोकन, निष्कर्ष र सिफारिसहरूको विस्तृत सिंहावलोकनबारे जानकारी गराउनु रहेको थियो।
बैठकमा विभिन्न विभागहरुले आ-आफ्नो भावी योजना अध्यक्ष समक्ष प्रस्तुत गरेका थिए, जसमा विज्ञ टोलीसँग गहिरो छलफल भएको थियो। विभिन्न विभागका अधिकारीहरूले तथ्यांक सम्बन्धित प्रमुखलाई बुझाइसकेको जानकारी गराए। बैठकले अल्पकालीन उपाय र दीर्घकालीन दिगो समाधान दुवैलाई ध्यानमा राखेर भावी बाढीको जोखिम न्यूनीकरणका लागि रणनीति तय गरेको थियो। यसमा भूमि प्रयोग योजना, पूर्व चेतावनी प्रणाली र सामुदायिक तयारी समावेश थियो।