गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी रोलू दिवसलाई लिएर आज पार्टीको शीर्ष पदाधिकारीहरूको सभा रोलू परिसरमा सम्पन्न भयो। प्रतिवर्ष पार्टीको एक उत्सवको रूपमा पालन गरिने रोलू भोजलाई सफल बनाउनका निम्ति सबैको जिम्मेवारी र दायित्वमाथि बहस गरियो।
रोलू दिवसको कार्यक्रमलाई सफल बनाउन पार्टी कार्यकर्ताहरूले आ-आफ्नो तहबाट गरिनुपर्ने कार्यहरूबारे पनि चर्चा गर्दै कार्यक्रमको रूपरेखा सम्बन्धि बहस गरियो।
सभामा पार्टीका सेक्रेटरी जेनरल एवं विधानसभा अध्यक्ष अरूण उप्रेती, विधानसभा उपध्यक्ष साङ्गे लेप्चा, युवा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेल, विधायक अदित्य गोले, विधायक सुनीता गजमेर, मुख्यमन्त्रीका राजनीति सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, एसकेएम नारी अध्यक्ष कला राई लगायत पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उक्त जानकारी एसकेएम प्रचार प्रसार समन्वयक नवीन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा दिइएको छ।
सभालाई सम्बोधन गर्दै अरूण उप्रेतीले आउँदो कार्यक्रमलाई सबैको समन्वयमा सफल बनाउनुपर्ने मन्तव्य गरे। सबै कार्यकर्ताहरूले निष्ठावान र समर्पित भएर कार्य गर्नुपर्ने दिशामा उनले जोड दिए।
उपस्थित समूहलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङ विशेष गरी पार्टीको विभिन्न भातृ संगठनहरू छन् भने सबैले संगठित भएर कार्यक्रमको तयारीमा लाग्न सके यसलाई सहजै सफल बनाउन सकिन्छ भन्ने विचार प्रकट गरे।
सभालाई युवा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेलले पनि सम्बोधन गरेका थिए। जसमा उनले उपस्थित कार्यकर्ताहरूलाई रोलू उत्सव सफल बनाउन उत्प्रेरित गर्दै यसमा सबैजना एकजुट हुनुपर्ने बताए। अन्तमा उपस्थित कार्यकर्ताहरू बीच खुल्ला विमर्श भएको थियो, जहाँ उनीहरूले आ-आफ्नो सुझाउ र सल्लाहहरू राखेका थिए। कार्यक्रमको निम्ति विभिन्न दायित्व र पदभारहरु पनि आजको सभाले सुम्पेको बताइएको छ।