गान्तोक: जोइन्ट एक्सन काउन्सिल सिक्किमले कार्यकारी समितिका पूर्व सदस्यहरूलाई उनीहरूले पुऱ्याएको योगदानको कदर गर्दै अभिनन्दन जनाएको छ। काउन्सिलले पूर्व अध्यक्ष शान्ता कुमार प्रधान, महासचिव केशव सापकोटासहित सल्लाहकार भरत बस्नेत, छितेन टाशी भोटिया लगायत काउन्सिलका अन्य पूर्व कार्यकारी सदस्यहरूलाई अभिनन्दन जनाएको हो।
पूर्व कार्यकारीलाई अभिनन्दन जनाएपछि नयाँ समितिले जोइन्ट एक्सन काउन्सिललाई सिक्किम र सिक्किमेको हितमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।
जानकारी गराइन्छ, १३ जनवरी, २०२३ को सर्वोच्च न्यायालयद्वारा एउटा आदेशमा सिक्किमका नेपालीहरूलाई विदेशी मूलका भनि गरिएको टिप्प्णीपछि जोइन्ट एक्सन काउन्सिल सिक्किमको गठन गरिएको थियो। काउन्सिलले विभिन्न कार्यक्रमहरू आयोजन गरेपछि अध्यक्ष शान्ता कुमार प्रधान लगायत अन्य कार्यकारी समितिका अन्य धेरैले राजीनामा दिएपछि जोइन्ट एक्सन काउन्सिलको नयाँ कार्यकारी समिति गठन गरिएको छ।
नयाँ समितिका संयोजक दिपक तिवारीले नयाँ समितिले जोइन्ट एक्सन काउन्सिललाई यसको लक्ष्यमा अघि बढाउने बताए। काउन्सिललाई विस्तार गर्नका लागि चाँडै जिल्ला स्तरमा पनि समिति गठन गर्ने उनले जानकारी दिएका छन्। जोइन्ट एक्सन काउन्सिल सिक्किम र सिक्किमेको हितमा काम गर्ने सङ्गठन भएकाले यसले सबै राजनैतिक दललाई सम्मान गर्ने बताउँदै तर काउन्सिललाई राजनैतिक मञ्चका रूपमा भने प्रयोग हुन नदिने बताए।