गान्तोक: केही दिन अघि झारखण्डबाट भारतीय राष्ट्रिय कंग्रेसका राज्यसभा सांसद धीरज साहुको झारखण्ड र ओडिसा राज्यस्थित विभिन्न ठेगानाहरूमा आयकर विभागको छापामा लगभग ३०० करोड़भन्दा अधिकको अकूत सम्पत्ति जफ्त गरिएको समाचारले अहिले राष्ट्रलाई नै स्तब्ध बनाएको छ।
यो घटनाले कंग्रेस पार्टी अनि पार्टीको शासनमा भ्रष्टाचारले कति जरा गाड़ेको छ भन्ने तथ्यलाई पुनः सबैसामु छर्लङ्ग बनाइदिएको भाजपा सिक्किमले बताएको छ।
भाजपा सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, कंग्रेस अनि भ्रष्टाचार एउटै सिक्काका दुई पाटा अनि एक अर्काका पर्यायवाची हुन्, यो कुनै नौलो विषय होइन। विगतमा पार्टीको केन्द्र अनि विभिन्न राज्यहरूमा भएका सरकारहरू यस्तै भ्रष्टाचारले गर्दा निरन्तर जनविश्वास गुमाउँदै गएको हो। हालमा देशका केही राज्यहरूमा मात्र सीमित रहेको कंग्रेस पार्टी आफूलाई सुधार्नेतर्फ नगएर अझ धेरै भ्रष्टाचार गर्ने अनि जनताको पैसा लुट्नेतर्फ अधिक समर्पित देखिन्छ जो राज्य तथा देशको विकास अनि प्रगतिमा ठूलो बाधक सिद्ध भएको छ। भाजपा सिक्किम कंग्रेस पार्टीको यस प्रकारको बर्मालुटाईको घोर विरोध तथा निन्दा गर्दै दोषीहरूमाथि कड़ा कार्वाहीको माग गर्दछ।
विज्ञप्तिमा अझ भनिएको छ, भारतीय जनता पार्टीले सदैव भ्रष्टाचारविरूद्ध आफ्नो शुन्य-सहिष्णुता नीतिलाई अघि सारेर आफूलाई सिद्ध गर्दै आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारले व्यवस्थाबाट भ्रष्टाचारलाई जरैबाट उखेल्न विभिन्न कदमहरू उठाएका छन्, जसले भ्रष्टाचारीहरूविरूद्ध उचित कानूनी कार्वाही सुनिश्चित गर्दै आएको छ। भ्रष्टाचारविरूद्ध भाजपाको यस प्रतिबद्धताले बारम्बार जनविश्वासलाई जित्न सफल बनेको छ भने देशको अर्थतन्त्रलाई पनि मजबूती प्रदान गरेको सबै अघि छर्लङ्ग छ।
अर्कोतिर, सिक्किममा पनि विगतका केही दशकहरूमा भ्रष्टाचारले सम्पूर्ण व्यवस्थालाई नै संक्रमित गरिसकेको भाजपा सिक्किमले बताएको छ। जनताको नाममा आएको पैसाको दुरूपयोग, कमिशनखोरी, राजस्वहरूमा हुने व्यापक चुहावटले सिक्किमलाई अहिले ५० हजार करोड़भन्दा अधिकको ऋणको भारी बोकाइसकेको छ, जसको कारण आज राज्यमा बेरोजगारी दर दिनदिनै बढ़िरहेको छ भने विकास र प्रगतिमा पनि विराम लागिसकेको बताइएको छ।
यी सबै विषयलाई मध्यनजर गर्दा अब केवल भाजपामा मात्र राज्यमा सुशासन ल्याउने र पारदर्शी व्यवस्था स्थापित गर्ने प्रतिबद्धता र क्षमता रहेको स्पष्ट भएको विज्ञप्तिमा दाबी गरिएको छ। सिक्किमका यी सबै समस्याहरूको समाधान गर्दै राज्यलाई समस्याहरूको जञ्जालबाट मुक्ति दिलाउन हेतु चाहिने सुशासन अब केवल भाजपाले मात्र दिनसक्ने पनि दाबी गरिएको छ।