सोनादा: आगामी ३१ दिसम्बर र १ जनवरीमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा सम्पन्न हुने दुइ दिवसीय सदभावना सम्मेलनलाई केन्द्र गरेर मानव उत्थान सेवा समितिको तराई- डुवर्स र भुटान प्रान्तको तत्वावधानमा कुचबिहार जिल्लाको टकागाछ क्लब मैदानमा एक दिवसीय सन्त समागम समितिका उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्षा महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न भयो। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको तस्वीरअघि दीप प्रज्वलन एवम् माल्यार्पण भई सम्पन्न भएको उक्त सन्त समागमलाई महात्मा अदिना बाईजी, महात्मा दक्षिणा बाईजी, डा. जयप्रकाश अग्रवाल, श्री दिलीप मोक्तान आदिले सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा महात्मा अदिना बाईजी र महात्मा दक्षिणा बाईजीले धर्म एवम् अध्यात्मको सार तत्वलाई जान्ने आह्वान गरेका थिए। विश्व ब्राह्मण्डलाई सञ्चालन गर्ने जुन अव्यक्त शक्ति छ सोही शक्ति नै सम्पूर्ण प्राणी, चराचर एवम् उद्भिदमा समाहित भएको हुन्छ, ती शक्ति नै प्राण शक्ति तथा आत्म तत्वको रुपमा मानव शरीरमा धारण भएको हुन्छ। वास्तवमा शरीरमा धारण भएको आत्म तत्वलाई जान्नु नै वास्तविक मानव धर्म रहेकोले सो धर्मलाई बुझ्नलाई सदगुरुको असीम कृपाद्वारा आत्मा ज्ञान ग्रहण गरी ध्यान योगको माध्यमद्वारा वास्तविक मानव धर्मलाई जान्न सकिने कुरो बाईजीद्वयले सम्झाईन्। भारत नेपालका विभिन्न प्रान्तहरूमा विज्ञान एवम् अध्यात्मको समन्वयमाथि आफ्ना वार्ताहरू पेश गर्दै आएका एक आध्यात्मिक चिन्तक डा. जय प्रकाश अग्रवालले पनि उक्त सन्त समागममा विज्ञान एवम् अध्यात्ममा आधारित आफ्ना सारगर्भित बिचारहरू व्यक्त गरेका थिए। विज्ञानले मानव शरीरको प्रत्येक अङ्ग प्रत्यङ्गको अध्ययन अन्वेषण गर्न सफल भएतापनि आत्माको साक्षात्कार गराउन असक्षम रहेको कुरो अघि राख्दै डा. अग्रवालले मानव शरीरमा श्वाँस श्वाँसमा रमीरहेको ईश्वरको नाम र ज्योति स्वरूपको ज्ञान र अनुभूति नै वास्तवमा अध्यात्मको सार रहेको कुरो बताए। मानवले सठीक समयमा समयको तत्वदर्शी सदगुरुको सानिध्यमा परेर आत्माज्ञान ग्रहण गरी ध्यान गर्नाले मानिसको दाहिने मस्तिस्क विकसित हुने बताए।विशेष गरी विद्यार्थीहरूले ध्यानको वास्तविक विधिलाई जानेर नियमित ध्यान गरेमा उसको स्मरण शक्तिमा बृद्धि हुने कुरो सम्झाउदै ध्यान योगको लागि सबैले नै आत्मा ज्ञानको जिज्ञासु बन्ने आह्वान गरेका थिए। सन्त समागमलाई आफ्ना आध्यात्मिक अनुभूतिको आधारमा डुवर्सका श्री दिलीप मोक्तानले पनि सम्बोधन गर्दै आफूले आफैलाई जान्नु अध्यात्मको सार रहेको कुरो बताए। मानव उत्थान सेवा समिति जयगाँव तहसीलकी प्रभारी महात्मा निलम्बरी बाईजी, सह प्रभारीद्वय महात्मा सुशिला बाईजी, महात्मा विशाला बाईजी, मानव सेवा दलका उत्तर पूर्वाञ्चल भाग दुईका प्रान्तपाल हेमराज गुरुङ, उप प्रान्तपालद्वय बिदुर काफ्ले, बाबुल मिजार, डुवर्स मण्डल प्रमुख नवदीप लामा, कमल शिवा, समितिका उपाध्यक्ष दीपक राई, सल्लाहकार लक्ष्मण राई लगायत तराई, डुवर्स भूटान प्रान्तका विभिन्न तहसीलबाट अनि कुचबिहार जिल्लाका विभिन्न गाँउ- ठाउँहरुबाट भागवत भक्तजन एवम् धर्म अध्यात्मका जिज्ञासुवर्ग धेरै संख्यामा उपस्थित थिए। यस अवसरमा सिक्किमकी वर्षा सिंह लगायत जयगाँव डुवर्सका भजन गायक कलाकारहरूले सुमधुर भजनहरू प्रस्तुत गरेका थिए। उपस्थित सबैलाई समितिको पक्षबाट आगामी दुइ दिवसीय सदभावना सम्मेलनको निमन्त्रणा पनि दिएका थिए।
प्रेषक
मेघनाथ छेत्री
प्रचार – प्रसार सचिव
मानव उत्थान सेवा समिति
उत्तर पूर्वाञ्चल क्षेत्र