खरसाङ: तीनधारेमा प्रि क्रिसमस कार्यक्रम २०२३ सम्पन्न भएको छ। तीनधारे इसाई कल्याण ट्रष्टको आयोजनामा तीनधारेको बीस माइलस्थित स्मृति वनमा सम्पन्न उक्त प्रि क्रिसमस कार्यक्रममा मुख्य अतिथिको रूपमा पश्चिम बंगाल सरकारको उत्तर कन्याको सचिव डब्ल्युबीसीएस अफिसर निबिल ईश्वरेरी उपस्थित रहेका थिए। पास्टर सचिन तामाङले सञ्चालन गरेको कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट मतियास सुब्बाले गरेका थिए भने स्वागत सम्भाषण पास्टर सचिन तामाङले नै राखेका थिए। यस प्रि क्रिसमस कार्यक्रममा कालेबुङको हिसप मिनिस्ट्री म्युजिकल ब्याण्डले रेभरेन्ट मतियास सुब्बा र सालोम काबो लेप्चाको अगुवाईमा विभिन्न गीतहरू प्रस्तुत गरेका थिए।

यस अवसरमा गायक विज्ञान बराईली र गायिका अस्मिता सिमिकद्वारा गीतहरू प्रस्तुत गरिएको थियो भने यसै अवसरमा क्रिसमसको क्यारोल गीतहरू पनि प्रस्तुत गरिएको थियो। यस प्रि क्रिसमस कार्यक्रममा क्रिसमसको मेसेज कालेबुङबाट आएका पास्टर मिन्ना सुन्दासले राखेका थिए। उनले क्रिसमसको सन्देश बाड्दै यीशु ख्रीष्ट संसारमा मानव जातिको लागि बलिदान दिनलाई संसारमा आएको अनि परमेश्वरले आफ्नो पुत्र यीशुको माध्यमबाट मानव जातिलाई प्रेम गरेको बताए। उनले क्रिसमस परमेश्वरको प्रेमको प्रतिक हो भन्दै यो समय परमेश्नरको प्रेम प्रदर्शन गर्ने समय हो र यो समय ख्रीष्टको प्रेम अनुभव गर्ने समय हो, एका अर्कालाई क्षमा दिने समय हो र गरीबलाई सहयोग गर्ने समय हो भनी बताएका छन्। कार्यक्रममा सागर खन्नाले विशेष गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथि डब्ल्युबीसीएस अफिसर निबिल ईश्वरेरीले पनि वक्तव्य राखेका थिए।

कार्यक्रममा सन्त जोहन चर्चका आमा झुण्डद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा केक काटेर प्रि क्रिसमस मनाइएको थियो भने उक्त केकलाई उपस्थित वरिष्ठ नागरिकहरूले काटेर वितरण गरिएको थियो भने केकको लागि पास्टर कबीर लामाले प्रार्थना गरेका थिए। कार्यक्रममा मार्थारानी राईले धन्यवाद ज्ञापन राखेकी थिइन् भने अन्तिम प्रार्थना नालम लेप्चा र आशिष रेभरेन्ट एन नारायण शर्माले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भेटघाट पत्रिकाको सम्पादक एल्डर राजु राई, प्रेरित ध्रुव शिष्य, रेभरेन्ट एन जोशवा शर्मा, सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, ब्लु डाईमण्ड स्कूलको निर्देशक बीबी थापा, रबि सुब्बा, सन्तोष लामा, जीवन थापा, साहित्यकार युवराज सुन्दास, रोजीरानी राई मुखिया लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रेजिना राई र कल्याणी राईले पनि सञ्चालन गरेका थिए।

यस प्रि क्रिसमस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै तीनधारे इसाई कल्याण ट्रष्टको सचिव एंव संस्थापक एल्डर मसीह प्रकाश मोक्तानले विस्तृत रूपमा जानकारी गराएका छन्।