पूर्व सैनिक सङ्गठन सिक्किमको वार्षिक सम्मेलन आयोजित

n5637994241702126886223a491ea72ce96af95d44232449c67c226d8016b1ede29b310ed1c812aec44cab3.jpg

गान्तोक: भारतीय सेनामा भर्ती हुन सिक्किमका युवाहरूमा रुचि घट्दै गएको विषयमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो चिन्ता व्यक्त गरेका छन्।

भारतीय सेना देश सेवाको गर्व र जीविकोपार्जनका लागि रोजगारी दुवै प्रदान गर्ने माध्यम भएर पनि सिक्किमका युवाहरूमा सेनाप्रतिको चासो लगातार घटेर गएको उल्लेख गर्दै युवाहरूमा सेनाबारे जागरुकता फैलाउन आवश्यक रहेको बताएका छन्।

शनिवार पूर्व सिक्किमको सरमसा गार्डनमा आयोजित पूर्व सैनिकहरूको वार्षिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री गोलेले भारतीय सेनाबाट आउने सिक्किमा कोटामा भर्ना हुने युवा नपाएका कारण ७० प्रतिशत कोटा खालि जाने गरेको जानकारी दिए। सिक्किमले केही समयअघि पाएको अग्नी बीरको कोटामा पनि भर्ती हुने युवा नपाएको मुख्यमन्त्रीले बताए। सिक्किममा भर्तीका कोटा नआउँदा पहिला यहाँका मानिसहरू भर्तीमा भाग लिन दार्जीलिङसम्म पुग्ने गरेका, तर अहिले सिक्किमले कोटा पाउँदा पनि सेनामा भर्ती हुनेको सङ्ख्या घटिरहेकाले पूर्व सैनिकहरूले गाउँमा जागरुकता फैलाउनुपर्ने आग्रह गर्दै मुख्यमन्त्रीले यसमा सरकार पक्षबाट सहयोग हुने बताए।

पूर्व सैनिकहरूको वार्षिक सम्मेलन अवधि मुख्यमन्त्री तामाङले पूर्व सैनिकहरूको हितमा सरकारले एउटा छुट्टै योजना बनाएर काम गर्ने जानकारी दिएका छन्। नवगठित पाकिम र सोरेङ जिल्लामा पूर्व सैनिक कार्यालय खोल्न सरकारले सहयोग पुऱ्याउने साथै छवटै जिल्लाका कार्यालयलाई सरकारले वाहन प्रदान गर्ने उनले घोषणा गरे। भारतीय सेना अन्तर्गत सिक्किम स्काउटमा सेवारत कसैको पनि सेवाकालमा निधन भए सरकारले परिवारका एकजाना सदस्यलाई कम्पन्सनेट ग्राउण्डमा स्थायी नोकारी दिने नियम बनाएको र यो नियम भारतीय सेनाका अन्य शाखामा काम गर्ने सिक्किमका सैनिकहरूको पक्षमा पनि लागू गरिने घोषणा गरे।

सिक्किममा सैनिक स्कूल खोल्नु पर्ने सम्बन्धमा माग उठीरहेको र यस सम्बन्धमा राज्य सरकारले केन्द्रमा पहल गरिरहेको जानकारी दिँदै यो अनुमोदन भएको खण्डमा सिक्किम सरकारले सबै कार्यमा पूर्ण सहयोग गर्ने जानकारी मुख्यमन्त्रीले दिए। उनले सिक्किमका पूर्व सैनिक तथा उनीहरूको परिवारका लागि घर निर्माण गर्न, उच्च शिक्षा आर्जन तथा अन्य कार्यमा पनि सरकारले सहयोग पुऱ्याउने बताएका छन्।

छुटेका १२ जात गोष्ठिलाई जनजातिको मान्यता दिलाउन र सिक्किम विधानसभामा लिम्बू-तामाङको सीट आरक्षणबारे सिक्किम सरकारले गरिरहेका कार्यबारे पनि मुख्यमन्त्रीले सम्मेलनमा जानकारी गराए। सिक्किमका १२ जात गोष्ठि र लिम्बू-तामाङ समुदायका प्रतिनिधिको साथमा आफूले केन्द्रिय गृह मन्त्री अमित शाह र जनजाति मन्त्रीसँग भेट गरेर सिक्किमको माग सम्बन्धमा चर्चा गरिसकेको र आगामी १९ दिसम्बरपछि पुनः दिल्ली गएर प्रधानमन्त्रीसँग पनि भेट गरेर यसबारे चर्चा गर्ने उनले बताए।

पूर्व सैनिक सङ्गठन सिक्किमद्वारा आयोजित वार्षिक सम्मेलनमा मुख्यमन्त्रीको साथमा सिक्किम सरकारको कृषि विभागका मन्त्री लोकनाथ शर्मा, भारतीय सेनाको १७ पर्वतीय खण्डका डिप्टी जीओसी बिग्रेडियर धनन्जय पाल्सेकर, पूर्व सैनिक सङ्गठन सिक्किमका अध्यक्ष कर्नल (अवकाशप्राप्त) डीएन भोटिया, सङ्गठनका अन्य पदाधिकारी, पूर्व सैनिक, पूर्व सैनिकका परिवार र बीर नारीहरू र कालेबुङबाट आएका पूर्व सैनिकहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement