कालचिनी: राज्य सरकारद्वारा हालै आबकारी विभागमा नियुक्तिको विज्ञापनमा परीक्षार्थीहरु बाङ्गला र नेपाली भाषामा जानकार हुन पर्ने विषयलाई केन्द्र गरेर हिन्दी औ अंग्रेजी माध्यममा पढ़ने विद्यार्थीहरुलाई भेदभाव गरिएको भन्दै सरकारले अतिशीघ्र यस विषयमा पदक्षेप लिने निवेदन गर्दै आज अलिपुरद्वार जिल्ला शासकको माध्यमबाट मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएशन (आबासा) द्वारा एउटा ज्ञापन सुम्पिएको जानकारी संगठनको पक्षबाट हाकिम महली र सानु खड़ियाले दिएका छन।
सरकारी नौकरीमा आवेदन आउँदा जहिले पनि हिन्दी भाषी संगसंगै अंग्रेजी माध्यममा पढ़ने विद्यार्थीहरुलाई अवहेलना गरिएको महसूस हुँदै आईरहेको र हालै मात्र आबकारी विभागमा कन्सटेबल नियुक्तिमा केवल बाङ्गला र नेपाली भाषी विद्यार्थीहरुको निम्ति प्राथमिकता दिएकोले यत्रो संख्यामा हिन्दी औ अंग्रेजी माध्यममा पढ़ने विद्यार्थीहरुलाई उपेक्षित गरिएको भन्दै अल बेङ्गल आदिवासी स्टुडेन्ट एसोसिएशन (आबासा) कालचिनी ब्लक कमिटीको पक्षबाट आज अलिपुरद्वार जिल्ला शासकको माध्यमबाट मुख्यमन्त्री समक्ष ज्ञापन पठाएको बताईएको छ। आबासाका सदस्यहरुले यदि सरकारले नौकरी नियुक्ति क्षेत्रमा बाङ्गला र नेपाली भाषी विद्यार्थीहरुलाई मात्र प्राथमिकता दिने हो भने हिन्दी स्कूलहरु बन्द गरिदिएको असल हुने जनाएका छन।
हिन्दी माध्यममा पढ़ने विद्यार्थीहरुको प्रथम भाषा नै हिन्दी हुने गरेको र यसरी सरकारी नौकरीको निम्ति बाङ्गला र नेपाली माध्यमलाई मात्र प्राथमिकता दिने हो भने हिन्दी र अंग्रेजी माध्यममा पढ़ने शिक्षित बेरोजगारहरु कहाँ जाने भन्दै राज्य सरकारले यसप्रति सहानुभूति राखेर काम गर्नु पर्ने निवेदन गरिएको आबासा कालचिनी ब्लक सचिव हाकिम महलीले थप जनाएका छन।