गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज सिङताम सरकारी उच्चतर माध्यमिक विद्यालयमा टिस्टा बाढी प्रभावित परिवारहरूको निम्ति राहत चेक वितरण गरियो। उक्त कार्यक्रमको आयोजना मुख्यमन्त्री कार्यालयद्वारा मुख्यमन्त्री राहत कोष अन्तर्गत गरिएको थियो।
बाढी प्रभावित परिवारहरूलाई मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चाको बाहुलीद्वारा चेक वितरण गरियो।
प्राप्त जानकारी अनुसार, मुख्यमन्त्री राहत कोषबाट कूल २६५ परिवारलाई राहत चेक वितरण गरियो। यसैगरी, घाटाको पूर्ति गर्न निजी विद्यालयका विद्यार्थीहरूलाई पनि चेक वितरण गरिएको थियो। दोकान भत्किएका प्रत्येक प्रभावितहरूलाई २०-२० हजार रूपियॉं र विद्यार्थीहरूलाई १०-१० हजार रूपियॉं वितरण गरिएको बताइएको छ।
मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव लेप्चा बाढी प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै सरकार प्रभावित परिवारहरूको निम्ति आजीविका सुनिश्चित गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए।
सिङताम नगर पञ्चायतका सभापति सुरेश तामाङले बाढी प्रभावित परिवारहरूको निम्ति अथक कार्य गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरे। यसैगरी, उनले विपद्को समयमा विभिन्न संघ संस्थाहरूले दिएको योगदानको निम्ति सराहना गरे।