गान्तोक: सिक्किम स्पोर्ट क्लाइम्बिङ एसोसिएशन (एसएससीए) को आयोजनमा शुक्रवारदेखि तीनदिने आईएमएफ नर्थ इस्ट जोनल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता २०२३ आरम्भ भयो।
दक्षिण सिक्किमको चेम्चे गाउँमा स्थित इण्डियन हिमालयन इन्स्टिट्युड फर् एडभेञ्चर एण्ड इको टुरिजम (आईएचआईएई) मा सिक्किम पुलिसका इन्स्पेक्टर जेनरल एसटी भोटिया मुख्य अतिथिको रूपमा उपस्थित भएर प्रतियोगिताको उद्घाटन गरे।
प्रतियोगितामा इण्डियन माउन्टेनरिङ फेडेरेशन (आईएमएफ) नर्थ इस्ट जोनका अध्यक्ष अनिता देवी (पद्मश्री), आईएचआईएईका प्रशासक राजिव राई विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
प्रतियोगितामा पूर्वोत्तर भारतका आठवटा राज्यका स्पोर्ट क्लाइम्बिङ खेलाड़ीहरूको निम्ति आयोजित क्षेत्रिय स्तरको प्रतियोगिताको बारेमा जानकारी गराउँदै एसएससीएका अध्यक्ष एभरेस्टर कुञ्जाङ ग्याछो भोटियाले प्रतियोगितामा जम्मा सिक्किमबाट २६ जना खेलाड़ी रहेको तथा अन्य राज्यबाट ३९ जना खेलाडीले सहभागिता दिइरहेको बताए। उनले सिक्किम जस्तो सानो राज्यले पूर्वोत्तर क्षेत्रीय स्तरको प्रतियोगिता आयोजन गर्न पाउनु महत्वपूर्ण क्षण रहेको बताए।
यस प्रतियोगिताको निम्ति राज्य सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंको चासोले कार्यक्रम आयोजन गर्न सक्षम बनेको बताए। उनले खेलाड़ीहरूलाई अवसरको फाइदा लिने र खेलाड़ीले वहन गर्नुपर्ने अनुशासनलाई प्रतिबद्ध भएर पालन गर्नुपर्ने आह्वान पनि गरे।
अर्कोतिर आईएमएफ नर्थ इस्ट जोनकी अध्यक्ष अनिता देवीले आफ्नो सम्बोधनमा सिक्किमको सुन्दर मनोरम ठाउँ चेम्चेमा एसएससीएले आयोजन गरेको प्रतियोगिताको सफलताको कामना गरिन्। उनले सिक्किमको सुन्दर ठाउँमा आफू लगायत पूर्वोत्तर राज्यका युवा खेलाड़ीहरूले प्रतियोगितामा सहभागि बन्ने अवसर पाउनुले खुसी तुल्याएको बताए।
अर्कोतिर मुख्य अतिथि एसटी भोटियाले सिक्किम सरकारले विशेष रूपमा खेलकूदलाई प्रोत्साहन गर्ने दिशामा कार्य गरिरहेको बताए। यस्तो स्थितिमा खेलाड़ीहरूले सरकारको सहयोग लिएर धेरै अघि बढ्न सक्ने सम्भावना र अवसरहरूलाई छुटाउनु नहुने बताए। उनले सिक्किममा पूर्वोत्तर राज्यस्तरको प्रतियोगिता हुनु महत्वपूर्ण कुरा रहेको बताए।
उनले खेलाड़ीहरूलाई सफलताको कामना गर्दै जीवनमा सफल खेलाड़ी बन्नको निम्ति अनुशासन र लगनशीलता अनिवार्य रहेको बताए। उनले भारतमा यो खेल नयाँ खेलको रूपमा रहेको भए पनि पूर्वोत्तर राज्य र सिक्किमका युवा खेलाड़ीहरूमा यसको चासो देखिएको कारण यसमा धेरै सम्भावना रहेको बताए। उनले सबैले प्रतिबद्ध भएर लक्ष्य प्राप्तिको निम्ति अघि बड्नुपर्ने आह्वान पनि गरे।
कार्यक्रममा निर्णयाकगणको टोली र सहयोगीहरूलाई एसएससीएको तर्फबाट टोपी र टी सर्ट मुख्य अतिथिको बाहुलीबाट वितरण गरियो। एसोसिएशनका समन्वयक प्रवीण खालिङले प्रतियोगिताको सफलताको निम्ति प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुऱ्याउने सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन्। अर्कोतिर प्रतियोगिताको फाइनल आगामी १० दिसम्बरको दिन हुनेछ। विजयी खेलाड़ीहरूले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।