खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सभापति तथा खरसाङ अनइम्प्लोईमेन्ट ट्याक्सी सेण्डिकेटका संस्थापक एंव सभापति तिलक गुरुङको आज निधन भएको छ। उनी ६५ वर्षका थिए। उनको निधन आज दिउँसो २.३० बजेतिर मस्तिष्क घातको कारणले आकस्मिक निधन भएको जानकारी प्राप्त भएको छ। परिवार पक्षबाट प्राप्त जानकारी अनुसार आज दिउँसो अचानक बेहोस भएर लडेपछि उनलाई खरसाङ महकुमा अस्पताल उपचारको लागि लगिएको थियो। अस्पताल लाने क्रममा घरदेखि अस्पतालबीचको बाटोमै तिलक गुरुङको निधन भएको जानकारी प्राप्त भएको छ। अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृतक घोषणा गरे। तिलक गुरुङले आफुपछि पत्नी र छोरी छोडी गएका छन्। उनको पार्थिव शरीरलाई खरसाङको सुबेदार बस्तीमा राखिएको छ। उनको छोरी विदेशमा रहेकोले छोरी आएपछि मात्र उनको पार्थिव शरीरलाई अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ। तिलक गुरुङ २०१७ अघि गोर्खा जनमुक्ति मोर्चाको खरसाङ महकुमा अध्यक्ष थिए। २०१७ को आन्दोलनपछि राजनीतिबाट केही निष्क्रिय पनि रहेका थिए।