अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौं पुरुष टी २० क्रिकेट विश्वकप प्रतियोगिताको घोषणा गरेको छ। जसमा विश्वका शीर्ष टोली सहभागी हुनेछन्। सन् २०२४ को आईसीसी टी–२० विश्वकप वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने छन्।
आईसीसी टी-२० विश्वकप २०२४ जुन ४, २०२४ देखि सुरु हुँदैछ। यस अवसरमा संयुक्त राज्यले पहिलो पटक ठूलो क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ। आईसीसीले भर्खरै संयुक्त राज्य अमेरिकामा टि-२० विश्वकप खेल्ने स्थानहरू फाइनल गरेको छ।
आईसीसीले हालै टी २० विश्व कप २०२४ को लोगो सार्वजनिक गरेको छ जसमा अन्तर्राष्ट्रिय टी २० क्रिकेटको आधारभूत विषयवस्तु समावेश गरिएको छ। लोगो ब्याट, बल र ऊर्जाको रचनात्मक मिश्रण हो। यससँगै बंगलादेशमा हुने महिला टी–२० विश्वकप २०२४ को लोगो पनि सार्वजनिक गरिएको छ।
युगान्डा पहिलो पटक छनोट :
युगान्डा अफ्रिकी क्षेत्रबाट आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएको छ। युगाण्डाको टोलीले अफ्रिकन जोन क्वालिफायरमा शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ। युगान्डा टी–२० विश्वकपमा छनोट भएको यो पहिलो पटक हो। नामिबिया यस क्षेत्रबाट छनोट हुने दोस्रो टोली बनेको छ।