जंगल सफारीले गोरुबथान टुरिजमलाई नयाँ दिशा दिने

IMG-20231208-WA0101.jpg

गोरुबथान: प्राकृतिक सम्पदाले भरिभराउ गोरुबथानको टुरिजममा जंगल सफारी नयाँ सम्भावना बनेर अघि आएको छ। यदि गोरुबथानमा जंगल सफारी शुरु भए यो जीटीएकै पहिलो जंगल सफारी हुनेछ। समुद्र तलदेखि ३२८ मिटरको उचाइमा रहेको कछाड क्षेत्र गोरुबथानमा जंगल सफारीको निम्ति विभागीय रुपमा पहल भइरहेको सूत्रमार्फत् थाहा लागेको छ। नेउरा रेञ्ज अन्तर्गत रहेका भुट्टबारी, बुढीखोला, माल चार, खारखोला, मालखोला, साखाम, माइक्रो हाइड्रो पावर प्रोजेक्ट, नेउरा खोला हुँदै मिसनहिल चियाबारीसम्मको करिब २० किमी दूरीभित्र जंगल सफारी गर्न सकिने स्थानीय जानकारहरू बताउँछन्। नेउरा रेञ्जलाई वन विभागले अहिले जंगली जनावर संरक्षण क्षेत्र भनेर घोषित गरेको छ। यस रुटमा जंगल सफारी गर्दा पर्यटकहरूले हात्ती, चितुवा, बनेल, बाइसन, मृग, दुम्सीलगायतका जंगली जनावरहरू देख्न सक्नेछन्। यति मात्र नभएर वर्डवाचिङका सौख राख्नेहरूको निम्ति पनि यस रुटमा मयुर, धनेश, कालिजलगायत अन्य असंख्यौँ पक्षीहरूले तिनीहरूलाई जंगलैभरि स्वागत गर्नेछ। पर्यटकहरूलाई स्वागत गर्नेहरूमा घनाजंगलमा पाइने विभिन्न प्रजातिका पुतली अनि अन्य कीटपतंग पनि हुनेछन्। जैविक विविधताले परिपूर्ण यस जंगलभित्र विविध जातिका औषधीय गुणयुक्त उद्भिद, रंगी बिरंगी फूलहरू, लतालहरा, खोलानालाहरू पनि पर्यटकहरूको निम्ति मुख्य आकर्षण बन्नेछन्।

जंगल सफारी अहिले वैश्विक रुपमै पर्यटकहरूको मुख्य आकर्षकको केन्द्र बन्दै गइरहेको छ। डुवर्सको लाटागुढी, बक्साहिल लगायत केही स्थानहरूमा राज्य सरकारको वन विभागले जंगल सफारी शुरु गरेको छ। जहाँ वर्षमा हजारौंका संख्यामा देशी विदेशी पर्यटकहरू जंगल सफारीको मजा लिन जाने गर्छन्। यसबाट प्राप्त हुने रेभेन्युले राज्य सरकारलाई ठूलो आर्थिक मदत पुगिरहेको छ भने सरकारको यस पहलले स्थानीय सयौँ मानिसहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा पुगिरहेको छ। यसले गर्दा क्षेत्रका धेरै युवाहरू स्वालम्वी बन्ने दिशामा अग्रसर बनेका छन्।

यहाँ विभागको योजना कार्यान्वयन भए गोरुबथानको टुरिजमले नयाँ दिशा पाउनेछ। पहाड र मधेसको संगम स्थल गोरुबथानको जलवायु नातिशितोष्णा छ। यहाँ न गर्मीको समयमा सहनै नसकिने गर्मी हुन्छ न ठण्डाको मौसममा धेरै ठण्डा। तसर्थ, पर्यटकहरूको निम्ति मौसम अनुकूल रहेको गोरुबथान पर्यटनको दिशामा भने भर्खर ताते गर्दैछ। यस दिशामा गोरुबथान अब हिँड्नुछ, दौड्नुछ। तर यसको निम्ति विभागीय सहयोग नितान्त आवश्यक छ। कतिवटा प्रोजेक्टको निम्ति निकै ठूलो धनराशि निवेश गर्नुपर्ने हुन्छ। भर्खर बामे सर्दै गरेको गोरुबथानबासीको निम्ति यो असम्भव प्रायः छ। विभागीय मदतबिना कतिपय पहलहरू गर्न सकिन्न। तसर्थ, यदि वन विभागले गोरुबथानमा चाँडै जंगल सफारी शुरु गरे यसले पर्यटन व्यवसायमा लागिपरेका स्थानीय मानिसहरूलाई धेरै फाइदा मिल्नेछ। यसले क्षेत्रको पर्यटनलाई गति दिनेछ। पर्यटनको गति देखेर अन्य मानिसहरू पनि यस व्यवसायप्रति आकर्षित हुनेछन्। जसले गोरुबथानलाई स्वालम्वी बन्ने दिशामा ठूलो सहयोग पुग्नेछ।

पर्यटनले होटल, रेस्टुरेन्ट, होमस्टे, टुरिस्ट लज, एजेन्सी, टुरिजम विभागलाई मात्र फाइदा पुग्ने होइन, यसले गाडी चालक/मालिक, सानोदेखि ठूलो दोकान, स्थानीय कृषिसित संलग्न उद्योमी, जात गोष्ठीको संस्कार/संस्कृति आदिलाई पनि प्रत्यक्ष अथवा परोक्ष रुपमा मदत पुग्नेछ। टुरिजम अहिले सरकारको निम्ति रेभेन्यु एकत्रित गर्ने मुख्य सेक्टर बन्दै गइरहेको छ भने स्वरोजगार बन्ने इच्छा राख्नेहरूको निम्ति यो सुनौलो अवसर बनेर अघि आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement