१९ मईः भारतमा हुने फीफा अण्डर-१७ वूमन्स वर्ल्ड कपको निम्ति तयारी युद्धस्तरमा चलिरहेको छ। आयोजक देशको रूपमा भारत एउटा दह्रिलो टीम बनाउने प्रयासमा रहेको छ अनि यसै क्रममा अखिल भारतीय फूटबल महासंघ (एआइएफएफ)-ले प्रतिभाशाली खेलाड़ीहरू चयन गर्न ट्रायल्सको आयोजन गरिरहेको छ। यसै ट्रायल्सको माध्यमले राष्ट्रिय टीमको जर्सी हासिल गर्ने लक्ष्य लिएर टाटा नगर जमशेदपुर पुगेकी छन् सुशान्ना राई। कालेबुङ जिल्लाअन्तर्गत सुदूर ताङ्गता निवासी सुशान्नाले गत केही वर्षदेखि आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सबैको मन जितेकी छन्। कालेबुङमा देवाञ्जन शेयर गर्ल्स एकाडमीबाट तयारी गरेर शीर्ष स्तरमा आफ्नो प्रतिभा देखाउन तयार सुशाना ट्रायल्समा पनि असल प्रदर्शनको साथ चयनकर्ताहरूलाई प्रभावित गर्ने विषयमा आश्वस्त छिन्।