गान्तोक: आध्यात्मिक गुरु परमपावन १४औं दलाई लामा तीन दिवसीय भ्रमणमा सिक्किम आइरहेका छन्। उनी आगामी ११ दिसम्बरका दिन सिक्किम आइपुग्ने छन् भने १४ दिसम्बरका दिन फर्किने छन्।
यहॉं राजधानीको पाल्जोर स्टेडियममा एक कार्यक्रम आयोजना गरिएको छ, जहॉं सिक्किम लगायत देशका विभिन्न ठाउॅंहरूबाट आएका अनुयायीहरूलाई आर्शीवचन दिनेछन्।
उक्त जानकारी राज्य धर्म विभागका मन्त्री सोनाम लामाले आज जारी एउटा भिडियो सन्देशमा दिएका छन्। उनले ११ दिसम्बरका दिन परमपावन १४औं दलाई लामा सिक्किम आउने जानकारी गराउॅंदै १२ दिसम्बरका दिन पाल्जोर स्टेडियममा एक कार्यक्रममा सहभागी बन्ने बताए। उनले पाल्जोर स्टेडियममा बिहान आठ बजी परमपावन दलाई लामा उपस्थित हुनेछन् भन्दै सबै अनुयायीहरूलाई बिहान सात बजीसम्म स्टेडियममा आइदिन आग्रह गरे।
उनले परमपावन दलाई लामा पाल्जोर स्टेडियममा १० बजीसम्म बस्नेछन् र त्यसपछि एउटा सरकारी कार्यक्रममा सहभागी बन्ने जानकारी गराए। उनले दलाई लामाको आशीर्वाद लिन सिक्किम लगायत छिमेकी राज्य र देशका विभिन्न ठाउॅंहरूमा अनुयायीहरू उपस्थित हुने बताए। मन्त्री लामाले १३ दिसम्बरका दिन विश्राम गरेपछि १४ दिसम्बरका दिन दलाई लामा सिक्किमबाट फर्किने छन् भनी बताए।