गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम पञ्जिकृत भएको छ। जन प्रतिनिधित्व ऐन १९५१ अन्तर्गत भारतको निर्वाचन आयोगले सिटिजन एक्सन पार्टी सिक्किमलाई पञ्जिकरण दिएको पार्टी अध्यक्ष एलपी काफ्लेले आज जानकारी दिए।
पार्टी १ दिसम्बर २०२३ मा पञ्जिकृत भएको र दिसम्बर महिनाभित्र निर्वाचन आयोगबाट चुनाउ चिन्ह पनि प्राप्त गर्ने विश्वास रहेको काफ्लेले जानकारी दिएका छन्। पार्टीको पञ्जिकरणपछि यसबारे जानकारी गराउन सीएपीले आज गान्तोकमा पत्रकार सम्मेलन आयोजित गरेको थियो।
सम्मेलनलाई पार्टी अध्यक्ष एलपी काफ्ले र कार्यकारी अध्यक्ष डीबी चौहानले सम्बोधन गरेका थिए। सिटिजन एक्सन पार्टी सिक्किम २६ जनवरी, २०२३ मा गठन भएको थियो भने यसको पञ्जिकरणका लागि निर्वाचन आयोग समक्ष २१ फरवरी, २०२३ मा आवोदन गरिएको पार्टी अध्यक्ष काफ्लेले जानकारी दिएका छन्।
सिटिजन एक्सन पार्टीको पञ्जिकरणका क्रममा सत्तारूढ एसकेएम पार्टी, विपक्षी एसडीएफ पार्टी र सिक्किमको सरकारी विभागले समेत बाधा र हस्तक्षेप पुऱ्याउने प्रयास गरेको आरोप लगाइएको छ। पार्टी पञ्जिकरण गरिनु हुँदैन भनेर सिक्किमबाट निर्वाचन आयोगमा लिगल नोटिस समेत पठाइएको र एउटा राजनैतिक दलले आफ्नो लेटर हेडमा आवेदन दिएर आपती जनाएको कुरा पनि सीएपी अध्यक्ष एलपी काफ्लेले खुलासा गरे।
मल्लीमा सीएपी संयोजक गणेश राई विरुद्ध लगातार भएका एफआईआर पार्टीको पञ्जिकरणलाई रोक्नका लागि मात्र थिए भन्ने उनले आरोप लगाएका छन्। पञ्जिकरणको भेरिफिकेशनका क्रममा गान्तोकका जिल्लापाल र एसपीले भने समयावधिमा काम गरिदिएको भन्दै उनीहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ।
सीएपीको लोकप्रियता र लगातार बढ्दो जनसमर्थनलाई देखेर सत्तारुढ एसकेएम र विपक्षी एसडिएफ दुवै पार्टीले पञ्जिकरणमा अड्चन लगाउने काम गरेका काफ्लेको आरोप छ। पञ्जिकरणपछि पार्टी अब चुनाउका लागि पूर्ण तयार रहेको जानकारी दिंदै २०२४ मा सीएपीले सरकार गठन गर्ने अध्यक्ष एलपी काफ्लेले दाबी गरे।
सिक्किममा व्यवस्था परिवर्तन गर्नु नै सीएपीको प्रमुख लक्ष्य रहेकाले २०२४ को चुनाउमा अन्य कुनैपनि पार्टीसँग चुनाउ पूर्वको गठबन्धन नहुने सीएपी अध्यक्षले जानकारी दिएका छन्।