खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अाज खरसाङमा न्यानो स्वागत जनाइएको छ। उनी आज अपरान्ह लगभग ४ बजेर १० मिनटमा खरसाङ आईपुगिन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हवाई मार्ग भएर बागडोगरा हवाई अड्डा उत्रेर सोझै खरसाङ आईपुगिन्। उनलाई खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख कार्यपाल अनित थापाले न्यानो स्वागत जनाएका थिए। उनीसितै जीटीएको सभासदहरू, भागोप्रमोको नेतृत्वहरू, कार्यकर्ताहरू, प्रशासनिक पदाधिकारीहरूद्वारा मुख्यमन्त्रीलाई स्वागत जनाइएको छ। बागडोगरा हवाई अड्डामा उत्रेर मुख्यमन्त्री र उनको काफिला रोहिणी रोड हुँदै खरसाङ आईपुगेका थिए। खरसाङको मोटर स्ट्याण्डमा अघिदेखि नै मुख्यमन्त्रीक स्वागतमा बसेका जीटीए चिफ् अनित थापा र उनको पार्टीको पदाधिकारीहरूले स्वागत जनाएका थिए। खरसाङको मोटर स्ट्याण्डमा मुख्यमन्त्रीले गाडीभित्रबाट नै मानिसहरूको अभिवादन स्वीकार गरेका थिए। मुख्यमन्त्रीले गाडीबाट जीटीए चिफ् अनित थपासित बातचीत गरेर सोझै खरसाङको पंखाबारी रोड हुँदै मकैबारी गएर बसेका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि बिहीबार खरसाङमा हुने पारिवारिक विवाह समारोहमा भाग लिन आज आईपुगेका छन्। मुख्यमन्त्रीले आगामी ८ दिसम्बरको दिन खरसाङको मन्टिभियट खेलमा हुने जनसभालाई सम्बोधन गर्ने र सरकारी सहुलियतहरू वितरण गर्ने कार्यक्रम रहेको छ। स्मरण गराईन्छ कि गत सोमबारको दिन नै तृणमूल कंग्रेसको राष्ट्रिय महासचिव एंव सांसद अभिषेक ब्यानर्जी खरसाङ आएर बसेका छन्।