गोरुबथान: गोरुबथान फ्युचर भिजनको आयोजनमा आगामी २३ दिसम्बर गोरुबथान गोर्खा उत्पादन मेला हुन गइरहेको छ। मेला भन्दा हामी मनोरञ्जन बुझ्छौँ तर २३ दिसम्बरको मेला मनोरञ्जन नभएर भोकल फर लोकलको नारा लिएर हुने गोरुबथान फ्युचर भिजनका सभापति पुरण राईले बताए। जहाँ गोरुबथानको माटोमा उम्रिएका हरेक उत्पादनलाई बिक्री साथै प्रदर्शनीको निम्ति राखिनेछ। गोरुबथानको जैविक उत्पादको बजारीकरण, स्थानीय युवाहरूलाई स्वालम्वी, स्वरोजगारी बनाउने लक्ष्य लिएर अघि आएको गोरुबथान फ्युचर भिजन गोरुबथानको जैविक विविधतालाई कुनै प्रकारको क्षति नपुराइ स्थानीय मानिसहरूको आर्थिक सबलताको निम्ति काम गर्न चाहाना राख्दछ, सभापति राईले भने।
गोरुबथानमा स्वालम्वी बन्ने अथाह सम्भावनाहरू हुँदाहुँदै पनि यसको सटीक सदुपयाेग भने हुन सकिरहेको छैन। गोरुबथान प्राकृतिक रुपमा मात्र सम्पन्न छैन तर भौगोलिक अवस्थानको कारण ट्रान्पोर्टेशनको पनि धेरै सुविधा छ। मधेस र पहाडको संगम स्थल गोरुबथानको मौसममा गर्मी र चिसो दुवै हावापानीमा हुने फसल उमार्न सकिन्छ। यति मात्र होइन गोरुबथान टुरिजमको निम्ति पनि पाइ परेको ठाउँ छ। यही विषयहरूलाई गोरुबथान फ्युचर भिजन गोरुबथानको आर्थिक सम्पन्नताको निम्ति कार्यान्वयन गर्न चाहान्छ।
आगामी २३दिसम्बर हुन गइरहेको गोरुबथान गोर्खा उत्पादन मेलामा गोरुबथानका विभिन्न गाउँ बस्तीमा उत्पादन भएका जैविक अन्न, फलफूल, सागसब्जी, मौरी/पुत्काको महलगायत घरमा चाहिने गोर्खा जातिको सांस्कृतिक सरसामान, खाद्य परिकार राखिनेछ। यसबाहेक आर्ट एण्ड क्राफ्ट, पुस्तक पसल पनि राखिनेछ। मेलाको मुख्य आकर्षण पुष्प प्रदर्शनी तथा बिक्री हुनेछ। उक्त पुष्प प्रदर्शनी तथा बिक्रीमा गोरुबथान बाहिरका नर्सरीहरूको पनि स्टल रहनेछ। स्थानीय फुल व्यवसायमा लागिपरेका मानिसहरूको निम्ति त्यो दिन फुलमाथि सेमिनार आयोजन गरिनेछ। जहाँ अतिथि स्रोतवक्ता उपस्थित रहनेछ। सोही दिन धर्मशालानजिक गोरुबथान फ्युचर भिजनको आउटलेटको पनि उदघाटन गरिनेछ। जहाँ गोरुबथानमा उत्पादित सबै सामग्रीहरू बिक्री साथै प्रदर्शनीको निम्ति राखिनेछ। उक्त आउटलेट हप्ताभरि खुल्ला रहनेछ। जहाँ गोरुबथान घुम्न आउने पर्यटकहरूको निम्ति मुख्य आकर्षण केन्द्र हुने तिनले थप जानकारी गराए।