गान्तोक: सिक्किम सरकारको वन एवम् पर्यावरण विभागको एनभीस हवको पहलमा हिजो जोरथाङको सामुदायिक भवनमा न्यून अपशिष्ट पहलमाथि एक दिवसीय कार्यशाला आयोजना गऱ्यो। उक्त कर्यक्रममा सोरेङ, नाम्ची र गेजिङ जिल्लाबाट ९० वटा विद्यालयका कूल ३०० जना विद्यार्थी अनि शिक्षकवर्गले सहभागिता जनाएका थिए।
यो कार्यक्रम वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा प्रायोजित वातावरण शिक्षा कार्यक्रम अन्तर्गत मिशन लाइफ- वातावरणका लागि जीवनशैली अभियान २०२२-२८ सम्म सञ्चालन गरिने विभिन्न गतिविधिहरू मध्ये एक रहेको छ। जिरो वेस्ट हिमालय (जेडब्ल्युएच) द्वारा विकसित गरिएको फोहोर र ब्रान्ड अडिटिङमा केन्द्रित टूलकिटहरूमा आधारित रिफ्लेक्ट-स्विच-डिमान्डको न्यून अपशिष्ट मन्त्र र न्यून फोहोरका लागि दार्जीलिङबाट आएका बाह््रवटा विषयका विशेषज्ञ अभिषेक प्रधान र कपिल रोकाले सहभागीहरूलाई विस्तृत रूपमा जानकारी गराए।
माखा एसएसएस लोमस ढुङ्गेल, एसएचजीका सदस्य होमादेवी शर्मा र कृष्ण शर्माले प्लास्टिक फोहोर उठाउने, टोकरी बनाउने आदिबारे प्रदर्शन गरेका थिए। विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूलाई विद्यालयमा न्यून फोहोर बनाउनका लागि केही प्रदर्शनी गरिएको थियो। विद्यालयमा इको-क्लबहरू, युवा क्लबहरू आदिसँग थप संलग्न हुन सक्षम बनाउन शून्य अपशिष्ट सीपहरू प्रदान गरियो।

ल्याण्डफिलमा पर्ने असरलाई कम गर्ने लक्ष्यका साथ जीवनशैली छनोटहरू मार्फत स्रोतमा फोहोरलाई न्यूनीकरण गर्ने परिकल्पना गरिएको थियो। कार्यक्रममा करिब २५ विद्यालयले फोहोरदेखि कला उत्पादनको प्रदर्शनी समेत गरेका थिए।