गान्तोक: जोइन्ट एक्सन काउन्सिल (ज्याक) सिक्किमका पूर्व महासचिव एवम् पूर्व नौसैनिक केशव सापकोटा चॉंडै विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-मा सामेल हुने भएका छन्।
सापकोटाले एसडीएफमा सामेल हुने कुरा पुष्टि गरेका छन्, तर सामेल हुने मिति भने तय नभइहालेको जानकारी दिएका छन्।
केशव सापकोटा जोइन्ट एक्सन काउन्सिलका तदर्थ अध्यक्ष समेत रहेका थिए भने उनले केही दिनअघि मात्रै यस पदबाट राजीनामा दिएका छन्। केही समयको लागि पत्रकारको रूपमा पनि काम गरिसकेका सापकोटाले ज्याकको गठनपछि महासचिवको पदमा रहेर काम गरेका थिए।
यसै वर्षको फरवरी महिनामा सर्वोच्च अदालतको एउटा फैसलामा सिक्किमेली नेपाली समुदायलाई ‘विदेशी मूलका सेटलर’ भने उल्लेख गरेपछि त्यसैको प्रतिक्रियामा जोइन्ट एक्सन काउन्सिलको गठन भएको थियो। काउन्सिलको यसै वर्षको ८ अप्रेलमा सिङ्ताममा आयोजना गरेको विरोध ऱ्याली अगावै केशव सापकोटामाथि प्राणघातक आक्रमण भएको थियो।
यसपछि केही समय सामाजिक गतिविधिमा निष्क्रिय रहेका केशव सापकोटा ११ नोभेम्बर, २०२३ मा जोइन्ट एक्सन काउन्सिलको तदर्थ समितिको अध्यक्षमा चयन भए। त्यसबाट राजीनामा दिएपछि अब उनीले राजनैतिक जीवन शुरु गर्न एसडीएफ पार्टीमा प्रवेश गर्ने भएका छन्।