रेड फेस्टको आठौं संस्करण थप आकर्षक हुने

IMG-20231205-WA0004.jpg

गान्तोक: नशालु पदार्थ अनि एचआइभी एड़्स विरुद्ध जनचेतना जगाउने साङ्गीतिक कार्यक्रम रेड फेस्टको आठौं संस्करण यस वर्ष थप आकर्षक र प्रभावकारी हुने आयोजक रिकवरिङ युजर्स नेटवर्कको भनाइ रहेको छ। आज यहाँ पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका अध्यक्ष हिस्से भोटियाले आठौं रेड फेस्टको पहिलो अडिशन आगामी १९ दिसम्बरको दिन गान्तोकमा हुने जानकारी गराए। उनले थप जानकारी गराएअनुसार यस वर्षको कार्यक्रममा नेपाली अनि हिन्दी सफ्ट म्यूजिकलाई पनि सामेल गरिएको छ। मुख्य कार्यक्रमको मिति भने पछिबाट घोषणा गरिने बताइएको छ।

उल्लेखनीय छ, रेड फेस्ट एउटा म्यूजिकल ब्याण्डहरूको प्रतियोगिता हो। प्रत्येक वर्ष दिसम्बर महिनामा सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीको सहयोगमा आयोजना हुने यस साङ्गीतिक प्रतियोगिता मार्फत नशालु पदार्थ र एचआइभी एड्स बारे जनचेतना जगाउने काम गरिन्छ। रेड फेस्टको सातौं संस्करणसम्म केवल रक ब्याण्डहरूलाई सामेल गरिएको थियो भने कार्यक्रमलाई थप आकर्षक बनाउन यस वर्षदेखि नेपाली र हिन्दी सफ्ट म्यूजिकलाई पनि सामेल गरिएको छ। यसको साथै यस वर्ष विजेता ब्याण्डहरूलाई दिइने नगद पूरस्कारमा पनि बड़ोत्तरी गरिएको आयोजक पक्षले जानकारी गराएको छ। यस वर्ष प्रथम, दोस्रो र तेस्रो हुने ब्याण्डलाई क्रमैले रु. १ लाख, ५० हजार र ३० हजार प्रदान गरिनेछ।

अउटा प्रश्नको जवाफमा साङ्गीतिक प्रस्तुतीसाथै राज्यभरि जनचेतनामुलक कार्यक्रम पनि आयोजना गरिने भएकोले रेड फेस्टले राज्यमा नशालु पदार्थ र एचआइभी एड्स बारे जनचेतना जगाउने आफ्नो उद्देश्यलाई पूरा गरिरहेको आयोजक पक्षको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement