गान्तोक: मध्यप्रदेश, राजस्थान र छत्तीसगढ़मा जीत अनि तेलङ्गना अनि मिजोरममा संगठनको बढ्दो लहरले सिक्किम प्रदेश भाजपाले हर्ष जाहेर गरेको छ। २०२४-को लोकसभा चुनाउ अघि भारतीय जनता पार्टीका प्रत्येक कार्यकर्ताहरूमा नयाँ जोश र उमंग छाएको दाबी गरेको छ। आज भाजपाले सबै जिल्ला पार्टी कार्यालयहरूमा विजय उत्सव मनायो जहाँ पार्टी पदाधिकारीगण साथै कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। हिजो अन्तर्राष्ट्रिय दिव्याङ्गजन दिवसको अवसरमा आएको यस ऐतिहासिक जीतलाई भाजपा सिक्किमले राज्यका सम्पूर्ण दिव्याङ्गजनप्रति समर्पित गर्दै आज उनीहरूको हक-अधिकारहरूको निम्ति निर्णायक कदमहरू चाल्ने संकल्प लिएको छ। यसै क्रममा गान्तोकस्थित पार्टी कार्यालयमा सम्पन्न विजय उत्सवमा पार्टी प्रदेश अध्यक्ष डीआर थापाको विशेष उपस्थिति रहेको थियो भने पार्टीका प्रमुख सल्लाहकार छितेन टाशी भोटिया, कर्मा पी भोटिया, उपाध्यक्षगण विभिन्न स्तरका पदाधिकारीगण अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले तीनवटा राज्यमा भएको पार्टीको अभूतपूर्व जीतले भाजपा सिक्किममा पनि नयाँ जोश देखिएको बताउँदै यसलाई एउटा शुभसंकेतको संज्ञा दिए। उनले ४८ वर्षमा विभिन्न क्षेत्रीय दलहरूको शासनले आज सिक्किमलाई ५० हजार करोड़भन्दा अधिकको ऋणको भारी मात्र बोकाएको तर गुणस्तरीय पूर्वाधार निर्माणको निम्ति कुनै काम नभएको बताउँदै अब केवल भाजपाले मात्रै सिक्किमलाई सही दिशा दिनसक्ने बताए। सिक्किममा भाजपा मात्रै यस्तो पार्टी हो जसले सरकार नआईकन राज्यका प्रत्येक घर-घरसम्म विभिन्न योजनाहरूमार्फत आफ्नो सौगातहरू पुऱ्याइसकेको बताउँदै अब सबै स्तरका कार्यकर्ताहरूले जन-जनसँग जोड़िएर पार्टीलाई माथि उठाउनुपर्ने कुरामा जोड़ दिए। अब भाजपाले मात्र सिक्किममा पारदर्शी, भ्रष्टाचारमुक्त, परिवारवादमुक्त, अधिकारसम्पन्न राज्य निर्माण गर्नसक्ने बताउँदै आफूहरू चौकीको निम्ति नभएर सिक्किमे जनतालाई जिताउने राजनीति गरिरहेको बताए। पार्टीका प्रमुख सल्लाहकार छितेन टाशी भोटियाले आफ्नो सम्बोधनमा भाजपामा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै केवल सिक्किमलाई ऋणमुक्त बनाउन अनि गुमेको हक अधिकारको पुनर्बहाली गर्नको निम्ति भारतीय जनता पार्टी एकमात्र विकल्प रहेको बताए।