गान्तोक: पाँच राज्य विधानसभा चुनाउको हिजो अनि आज भएको मतगणनामध्ये मध्यप्रदेश, राजस्थान र छत्तीसगढ़मा भारतीय जनता पार्टीको अभूतपूर्व जीतले २०२४-को लोकसभा चुनाउ अघि भारतीय जनता पार्टीमा नयाँ जोश र उमंग ल्याएको छ। यस अभूतपूर्व विजयको उत्सव मनाउन आज सिक्किम राज्य भारतीय जनता पार्टीले सबै जिल्ला पार्टी कार्यालयहरूमा विजय उत्सव मनायो जहाँ पार्टी पदाधिकारीगण साथै कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यसै क्रममा गान्तोकस्थित पार्टी कार्यालयमा सम्पन्न विजय उत्सवमा पार्टी प्रदेश अध्यक्ष डीआर थापाको विशेष उपस्थिति रहेको थियो भने पार्टीका प्रमुख सल्लाहकार श्री छितेन टाशी भोटियालगायत विभिन्न स्तरका पदाधिकारीगण अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। प्रदेश अध्यक्ष डीआर थापाले तीनवटा राज्यमा भएको पार्टीको अभूतपूर्व जीतले भाजपा सिक्किममा पनि नयाँ जोश देखिएको बताउँदै यसलाई एउटा शुभसंकेतको संज्ञा दिएका छन्।