गान्तोक: सिक्किममा राजनीति र हिंसा एकाअर्काको समपूरक बन्न पुगेको छ। यहाँ हिंसा बिना राजनीति नै हुँदैन। विशेष गरेर चुनाउको छेकछाकमा त राजनीतिक हिंसा चरममा पुग्ने गर्छ। अब विस्तारै २०२४ को विधानसभा र लोकसभा चुनाउ नजिक आउँदै गएको छ भने राजनीतिक हिंसाले पनि टाउको उठाउन थालेको छ। राज्यमा चुनावी हिंसाको थालानी भइसकेको छ। आज पश्चिम सिक्किमको रिञ्चेनपोङ समष्टिअन्तर्गत कटरबोटे रेसिमा राज्यका दुई प्रमुख पार्टी सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा र सिक्किम डेमोक्रेटिक फ्रण्ट बीच यस्तै एउटा हिंसात्मक झड़प भयो। गल्ती कसको थियो तथा हिंसा कसले शुरु गरेको थियो भन्ने जाँचको विषय बनेको छ। तर अहिलेलाई भने सँधै राजनीतिक हिंसापछि हुने गरेको आरोप प्रत्यारोपको खेल शुरु भएको छ।
दुवै पार्टीले प्रेस विज्ञप्ति र भीडियो विज्ञप्ति जारे गरेर एकाअर्कालाई आजको घट्नाको निम्ति दोषी ठहर गरेको छ। एसडीएफ पार्टीले कथित रुपमा राज्य बाहिरबाट असमाजिक तत्वहरूलाई भाड़ामा ल्याएर राज्यको शान्ति श्रृङ्खला भङ्ग गर्ने कोशिश गरेको एसकेएम पार्टीको आरोप रहेको छ। पार्टीले दावी गरेअनुसार एसडीएफ पार्टीले डब्ल्यूबी नम्बर भएको वहानमा राज्य बाहिरका युवाहरू ल्याएर एसकेएम कार्यकर्ताहरूमाथि प्राणघातक आक्रमण गरेको छ। वाहनमा धारिला हातहतियार रहेको पनि दावी छ। अर्कोतिर लोकतन्त्रको खुल्ला उल्लङ्घन गर्दै एसकेएम पार्टीका कार्यकर्ताले आफ्नो पार्टीका कार्यकर्ताहरूमाथि प्राणघातक आक्रमण गरेको एसडीएफ पार्टीको आरोप रहेको छ। एसकेएम सरकारकालमा दिनदिनै राजनीतिक हिंसा र गुण्डागर्दी बड़दै गइरहेको पनि एसडीएफ-को थप आरोप रहेको छ।
आजको घट्नालाई लिएर दुवै पार्टीले सम्बन्धित पुलिस थानामा प्राथमिकी दर्ता गराएको जान्नमा आएको छ। तर, त्यसको आधिकारिक पुष्टि भएको छैन। यसबीच नाम्ची जिल्ला अस्पतलामा उपचाराधीन आजको घट्नामा घाइते एसडीएफ कार्यकर्ताहरू प्रह्लाद राई, सुकराज राई, धनबहादुर तामङ, आइबी राई, सिद्धान्त सुब्बा र फुर्देन भोटियालाई भेट्न पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ अस्पताल पुगेको जानकारी प्राप्त भएको छ।