गान्तोक: नेपाली संस्कृति परिषद्, सिक्किमले नेपाली जातिको संस्कृति उत्थान र जगेराको निम्ति निरन्तर रूपमा गर्दै आएको संस्कृति मन्थनको 72औं प्रकरण नेपाली साहित्य परिषद्मा सम्पन्न भयो।
नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेल मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेपाली संस्कृति परिषद्का अध्यक्ष अनन्त भण्डारीले गरेका थिए।
कार्यक्रममा पूर्वी संस्कृतिबारे तीन वौद्धिक वक्ताहरूले आफ्नो वार्ता प्रस्तुत गरेर संस्कृतिको विषयमा संकथन स्थापित गरेका थिए। जसमा कमल काफ्लेले समाजमा देखा परेका विकृत समस्याका समाधानबारे रोचक र आवश्यक सुधार तथा कार्य गर्नुपर्ने विषयमा वार्ता प्रस्तुत गरेका थिए। उनले समाजबाट हराउँदो परम्परा र संस्कृतिलाई अब उसो कसरी जगेरा गर्नुपर्ने विषयमा आफ्नो मन्तव्य राखेका थिए।
यसै गरि युवा वार्ताकार नरेश छेत्रीले वर्तमान परिवेशमा अध्यात्मिक चिन्तन (युवा सोच) माथि वार्ता राख्दै मान्छेलाई हुनुपर्ने मृत्यु चेतबारे सुन्दर अभिव्यक्ति जाहेर गरेका थिए। उनले अध्यात्म र मृत्यु चिन्तनले मान्छेमा विकास गर्ने सद्गुणको बारेमा संकथन दिएका थिए।
यसैगरि युवा वैज्ञानिक तथा चिन्तक डा. घनश्याम बास्तोलाले आफ्नो वेर्ताको विषय वैश्विक समस्याका समाधान (वर्तमान परिवेशमा) बारे बोल्दै पूर्वी संस्कृतिमा सबै थोक भएको तर त्यसलाई व्यावहारिक रूपमा प्रयोग नगरिएको कारण केवल कथनीमा रहेको कुरालाई जानकारीमा राखे। आफ्नो वार्तामा उनले व्यङ्गात्मक तरिकाले मान्छेमा हुने वचन र कर्मको पार्थ्यक्यताबारे आफ्नो अडान राखेका थिए। उनले जीवनमा संस्कृतिलाई वचनमा मात्र नभएर कर्ममा धारण गर्नुपर्ने बताए।
यसैगरि मुख्य अतिथि र सभाध्यक्षले आफ्नो संक्षिप्त सम्बोधनमा कार्यक्रमले दिएको गरिमामय लाभको बारेमा अवगत गराए। उनीहरूले संस्कृति संरक्षण र विस्तारको निम्ति भइरहेको पहललाई निरन्तरताको कामना पनि राखे।
कार्यक्रममा पावन बाहुन र गीता मिश्रले अमृत वचन पाठ गरका थिए। कवि रन्ता लक्समद्वारा स्वागत मन्तव्य राखेर शुरु गरिएको कार्यक्रमको समापनमा डिकेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको बीचमा कवि कपिमणि अधिकारी, प्रेम नेउपाने प्रहर, डीआर गुरुङ र सीता छेत्रीले कविता वाचन गरेका थिए।










