गान्तोक: श्रीबदामलाई ट्राउट भिलेज घोषणा गरिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद ज्ञापन गरिएको छ। मत्स्य महोत्सव आयोजक समिति, सिक्किम ट्राउट माछा कोर्पोरेट सोसाइटी लगायत सम्पूर्ण क्षेत्रवासीको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद ज्ञापन गरिएको छ।
मत्स्य महोत्सव २०२३ एवं सिक्किम औषधीय वनस्पति बोर्डका अध्यक्ष महेन्द्र गुरूङले आज जारी प्रेस विज्ञप्तिमा सोरेङ जिल्लाको श्रीबदाममा गत २४, २५ र २६ नोभेम्बरका दिन तीन दिवसीय राज्य स्तरीय मत्स्य महोत्सव २०२३ आयोजना गरिएको बताएका छन्। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति हुने निर्धारित गरिएको भए पनि उहाँको शारीरिक अस्वस्थताका कारण उपस्थित हुन नसकेको, तर मुख्यमन्त्रीले राज्यमा माछा पालन र माछा व्यवसायीहरुको पेशालाई प्रवर्द्धन गरी कृषकहरुको आयस्रोत बढाउन श्रीबदामलाई ट्राउट भिलेज घोषणा गरेको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले मार्ताममा आयोजित तियोङ्सी श्रीजङ्घा जन्म जयन्तीको अवसरमा उक्त घोषणा गरेका थिए। उक्त घोषणाको निम्ति मत्स्य महोत्सव आयोजक समिति, सिक्किम ट्राउट माछा कोर्पोरेट सोसाइटी लगायत सम्पूर्ण क्षेत्रवासीको तर्फबाट मुख्यमन्त्री तामाङप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
उनले भनेका छन्, माछा पालन व्यवसाय अहिले सिक्किममा फस्टाउँदो व्यवसाय बनेको छ। माछा पालेर जीवन धान्ने व्यवसायीको संख्या बढ्दै गएको छ। वर्तमान सिक्किम सरकार एवं मुख्यमन्त्रीले मत्स्य पालनतर्फ विशेष सहयोग प्रदान गर्नुहुँदै माछा पालकहरूलाई प्रोत्साहित गरिएकोले पनि यो व्यवसाय फस्टाएर गएको हो। सरकारले मुख्यमन्त्री मत्स्य उत्पादन योजना नै लागू गरेर माछा पालन व्यवसायमा पुऱ्याएको योगदानप्रति पनि हामी कृतज्ञ छौं।










