गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको ब्यानरमा आज गेजिङ कार्यालयमा १८औं खुल्ला दर्शन एवं पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा दलमान मुखियाद्वारा लिखित लघु कथा संग्रह ‘मुसुक्क मुस्काई दिए’ को विमोचन गरियो।
आजको यस कार्यक्रममा पद्म श्री एवं पश्चिम सिक्किम साहित्य प्रकाशनका मुल स्तम्भ, स्रष्टा सम्पादक केदार गुरुङ, साहित्यकार दलमान मुखिया पिर, गोबरधन बास्तोला, लक्ष्मी प्रसाद गुरुङ, सीएल गुरुङ लगायत सम्पादक र साहित्यकारहरुको उपस्तिथि रहेको थियो। सिक्किममा लामो समयदेखि साहित्य लेखनमा कलम चलाउँदै आएका साहित्यकार पीरको यो छैटौं कृति हो।
पद्म श्री केदार गुरुङले अध्यक्षता गरेको कार्यक्रममा साहित्यकार धनसिङ बिश्व, धिरज राई, लगायतले कविता र गजल वाचन गरेका थिए। पुस्तक लोकार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार दलमान मुखिया (पिर) ले आफुले साहित्य क्षेत्रमा कलम चलाउन कवि लक्ष्मी प्रशाद देवकोटाको कृतिबाट प्रेरणा पाएको बताउँदै। उनले नेपाली भाषा साहित्यको संरक्षण गर्न सबैले कलम चलाउन आग्रह गरे।
कार्यक्रममा वरिष्ठ साहित्य एवं पद्मश्री केदार गुरुङले आफ्नो सम्बोधन राख्दै साहित्य क्षेत्र मात्रै यस्तो ठाउँको हो जसको माध्यमबाट समाज र राष्ट्रलाई देख्न सकिने बताए। दलमान मुखिया एक सफल कथा, कविता, निबन्धकारको रुपमा चिनिने गरेकाले समय सान्दर्भिक साहित्यकार पिरलाई बधाई दिए।
लेखाइ मनोरञ्जन मात्रै होइन कर्तव्य पनि हो भन्दै वर्तमान नेपाली साहित्यलाई नियाल्दा कतिपय स्थानमा त्रुटि पाइन थालेकामा उनले खेद प्रकट गरे। उनले भाषा साहित्यको संरक्षणमा व्याकरणमाथि ध्यान दिनुपर्ने सुझाउ दिए।










