मल्ली: पूर्व मन्त्री तथा खाम्दोङ क्षेत्रबाट तीनपल्ट विधायक बनेका बीएम रामुदामु सिटिजन एक्स पार्टी (सिएपी) सिक्किममा सामेल भएका छन्। आज शनिवार दक्षिण सिक्किमको मल्लीडाँडामा आयोजित सीएपीको जनसभा तथा जन समावेशी कार्यक्रम अवधि रामुदामु पार्टीमा सामेल भए।
उनको साथमा सामाजिक कार्यकर्ता फुरी शेर्पा, एसएचपीसीका पूर्व उपाध्यक्ष हरिचन्द्र छेत्री छेत्री, उद्यमी पुनम सिञ्चुरी लगायत अन्य मानिसहरू सीएपीमा सामेल भए। आजको कार्यक्रम अवधि ११ सय मानिसहरू पार्टीमा सामेल भएका सीएपीले दाबी गरेको छ। पार्टीमा सामेल हुनेहरूलाई अध्यक्ष एलपी काफ्ले र मुख्य संयोजक गणेश कुमार राईले स्वागत जनाएका थिए।
सिटिजन एक्सन पार्टीका अध्यक्ष एलपी काफ्लेले पार्टीमा सामेल हुनेहरूलाई स्वागत जनाउँदै सिक्किमको राजनीतिमा धेरै पार्टीले सत्ता चलाए पनि एक व्यक्तिको रिसमा अर्कोले राजनीति शुरु गरेकाले जनपक्षका सरकार साबित नभएको र सीएपी जनताले सिक्किमे समाजमा सुधार ल्याउन खोलिएको बताए। झण्डा र नारा बिनाको पार्टी भएकाले पार्टी गठनसँगै सुधार शुरु भएको उनले बताए।
पार्टी सामुहिक नेतृत्वमा चल्ने, पार्टीको साङ्गठनिक ढाँचा अन्यभन्दा फरक रहेको, पार्टी सरकारमा पुगेपछि मुख्यमन्त्रीको विभाग नहुने काफ्ले दाबी गरे। उनले एसडीएफ र एसकेएम दुवै सरकार जनपक्षमा नरहेका आरोप लगाए। सिटिजन एक्सन पार्टीका अध्यक्ष एलपी काफ्लेले २०२४ मा पार्टीले सरकार गठन गर्ने र सिक्किमलाई दश वर्षमा ऋणमुक्त गराउने दाबी गरे। उनले एलटी सीट दिलाउन पार्टीको फर्मुला तयार रहेको र आगामी समय सार्वजनिक गर्ने बताए।
पार्टीको जनसभालाई सम्बोधन गर्दै मुख्य संयोजक गणेश कुमार राईले अहिलेसम्म सिक्किमका कुनैपनि सरकारले जिम्मेवारी वहन नगरेको बताए। सरकार जनतालाई आफ्नो जीवन जीउने आत्माविश्वास र स्थिरता दिनुपर्ने भएपनि त्यो दिन नसकेका कारण सीएपी सरकरमा आउन आवश्यक रहेको बताए। अहिलेको सरकार र व्यवस्थाले जीवनमा स्थिरता होइन तर जीवन यापन गर्न नेताको पछि कुद्नुपर्ने वाध्यता मात्र सिर्जना गरेको आरोप लगाउँदै सिटिजन एक्सन पार्टीले सरकार गठन गरेर सिक्किमे युवाको भविष्य निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले पार्टीमा सामेल हुनेका कारण पार्टीमा थप उर्जा बढेको र पार्टीलाई फाइदा हुने बताए। उनले एसडीएफ सत्तामा फर्किन्छ भनेर आशा राख्नु जनताका लागि भ्रम मात्र रहेको दाबी गर्दै सीएपीले सरकार गठन गरेमात्र जनताको भलो हुने बताए। गणेश राईले एसडीएफ र एसकेएम मिलेको सबुत भविष्यमा उजागर गर्ने बताएका छन्।
एसकेएम सरकारले सिक्किम सुधार यात्रा रोक्न असफल भएपछि एसडीएफलाई अघि लाएर सिक्किम बचाऔँ अभियान शुरु गराएको गणेश राईले आरोप लगाएका छन्।एसकेएम र एसडीएफ दुवै पार्टी जातको राजनीति गरिरहेका र यो राजनीति समाजका लागि घातक रहेको उनले बताए। एसडीएफ अघिले पनि सत्तामा पुग्नका लागि जातको राजनीति गरिरहेको र २५ वर्ष एसडीएफ सत्तामा रहँदा पनि सिक्किमलाई फाइदा नभएका कारण सीएपी सुधारको राजनीतिको माध्यमबाट नेतृत्व दिन तयार रहेको बताए।
उनले एसकेएमको राजनीतिलाई ब्लु प्रिन्ट बिनाको क्रान्ति बताए। एसकेएमले क्रान्तिको असली परिभाषाबाट भागेर पवन चामलिङको विरुद्धको बिद्रोहलाई मात्र प्राथमिकता दिएका कारण सिक्किमले एसकेएम सरकारकालमा व्यापक नोकसानी झेल्न परेको बताए। पीएस गोलेले मन्त्री नपाउँदा मात्र बगावत गरेका कारण सिक्किम निर्माणको ब्लुप्रिन्ट नभएको जसको नोकसान सिक्किमलाई भएको गणेश राईको आरोप छ।
तथापी सिएपीमा सिक्किम सिक्किमे जनताको भविष्य निर्माणको ब्लुप्रिन्ट रहेको दाबी गर्दै भविष्यमा यसलाई उजागर गर्ने बताए। उनले आगामी जनसभाको माध्यमबाट २०२४ को चुनाउको शंखघोष गर्ने बताएका छन्।
सीएपीमा सामेल भएपछि जनसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री बीएम रामुदामुले सीएपी युवा जमातको पार्टी भएका कारण सिक्किमलाई यस पार्टीको आवश्यकता रहेको बताए। उनले एसडीएफ र एसकेएम दुवै पार्टी सिक्किमको राजनीतिमा औचित्यहिन बनेको बताए।
सीएपीका कार्यकारी अध्यक्ष तथा मुख्य प्रवक्ता डीबी चौहानले सीएपीको कार्यक्रमलाई सरकार र प्रशासनले लगातार छेक्ने प्रयास गरिरहेको आरोप लगाउँदै तर जति नै छेके पनि आगामी चुनाउमा पार्टीले सरकार गठन गर्ने ठोकुवा गरे। उनले प्रशासनलाई सीएपीको बाटो नछेक्न चेताउनी पनि दिए। पूर्व र वर्तमान दुवै सरकार सिक्किमको आम जनताको हितमा नरहेको चौहानले बताए।
एसडीएफ र सीएपी मिल्नुपर्ने कुरा वर्तमानमा उठीरहेको दाबी गर्दै तर सिएपीले आफ्नो बलबुतामा राजनीति गर्ने तर कुनै अवस्थामा पनि एसडीएफसँग नमिल्ने बताए। एसडीएफका कार्यकर्ता इमान्दार रहे पनि पार्टी अध्यक्ष पवन चामलिङ केवल परिवार बचाउन मात्र लागिपरेका छन् भन्दै एसडीएफ दुई सेतो केसमा मेहन्दी लगाएको जस्तो मात्र हो भन्ने ठहर गरे।









