खरसाङ: विभिन्न पर्यटकीय स्थलहरूमध्ये खरसाङको गिध्द पहाड़स्थित ऐतिहासिक नेताजी म्युजियम पनि एक हो। खरसाङ बजारदेखि लगभग ३-४ किलोमीटर टाड़ामा रहेको नेताजी म्युजियम नेताजी इन्स्टीट्युट फर एशियन स्टडिसकै एक शाखा हो। खरसाङको विभिन्न पर्यटकीय स्थलहरूमध्ये यो पनि मुख्य हो। यो म्युजियम धेरै अघिदेखि नै सञ्चालित र प्रसिध्द भए पनि अहिलेको समयमा भने यहाँ पर्यटकहरूको संख्यामा अध्याधिक वृध्दि भएको देखिएको छ।

२०१६ देखि गिध्दे भ्यु पोइन्टको सुन्दरीकरणपछि यस म्युजियममा पनि पर्यटकहरूको संख्यामै निक्कै वृध्दि भएको छ। अहिले यस म्युजियम हेर्न आउने पर्यटकहरूको संख्या दैनिक तीन सय – चार सय र कोही बेला छ सय आठ सय पनि आउने गरेको जानकारी प्राप्त भएको छ। नेताजी सुवासचन्द्र बोससित सम्बन्धित यो म्युजियमको ऐतिहासिक महत्व रहेको छ। प्राप्त जानकारी अनुसार अहिलेको यो म्युजियम नेताजीको दाजु शरदचन्द्र बोसले १९२२ सालमा किनेका थिए जुन घर सन् १९०१ देखि १९०६ भित्रमा बनिएको हुनसक्ने अनुमान लगाइएको छ। यस घर नेताजीको परिवारहरू १९२२ देखि १९३९ सम्म आउने गरेको र बस्ने गरेको बताइएको छ। यसै घरमा नै नेताजी सुवासचन्द्र बोसलाई अंग्रेज सरकारले सन् १९३६ मा सात महिनाको लागि गृह बन्दी बनाएर राखेको जानकारी प्राप्त भएको छ।

उक्त घरमा १९८६ पछि नेताजीको परिवारहरू आउन छोड़ेपछि १९९५ देखि सरकारले लिने प्रक्रिया थालेर १९९७ देखि २००० सम्ममा सुन्दरीकरणको काम गरी २००० सालमा पश्चिम बंगालको तत्कालीन उच्च शिक्षा मन्त्री सत्य साधन चक्रवर्तीको बाहुलीबाट उदघाटन गरी नेताजी म्युजियमको रूपमा सञ्चालन गरिएको नेताजी म्युजियम गिध्द पहाड़को अफिसर ईन्चार्च गणेश प्रधानले बताएका छन्। उनले बताए अनुसार यसै घरबाट नेताजीले आफ्नी पत्नीलाई २२ वटा पत्र पठाएको र ११ वटाको उत्तर आएको बताएका छन्। प्रधानले यो म्युजियम अहिले पर्यटकहरूको लागि साथै नेताजी सुवासचन्द्र बोसमाथि अध्ययन र जानकारी लिन चाहाने शोधार्थीहरू, विद्यार्थीहरूका लागि मुख्य केन्द्र बनेको बताए। उनले यो पहाड़ी भाषा, साहित्य, संस्कृति, समाज अध्ययन केन्द्र रहेको बताए। उनले बताए अनुसार २००१ सालमा म्युजियम बाहिरपट्टि नेताजीको मूर्ति स्थापना गरिएको जसलाई तत्कालीन मुख्यमन्त्री बुध्ददेव भट्टचार्यले अनावरण गरिएको बताएका छन्। त्यसको साथै २००४ मा ईण्डियन म्युजियम कोलकोताले यस म्युजियमको सुन्दरीकरण गरेको र हालमा य म्युजियम पश्चिम बंगाल सरकारको उच्च शिक्षा विभाग अन्तर्गत रहेको पनि बताएका छन्। उनले अहिले यहाँ पर्यटकहरू निक्कै आउने गरेको तर पर्यटकहरूका लागि शौचालय बनिनु पर्ने तथा पर्यटकहरु लागि यहाँको भ्यु पोइन्टमा क्याँफे बनिएको खण्डमा राम्रो हुने बताएका छन्। यस क्रममा यहाँ घुम्न आउने पर्यटकहरूले नेताजी म्युजियम निरीक्षण गरेपछि खुशी व्यक्त गरेका छन्। पर्यटकहरू यहाँ आएपछि नेताजी विषयमा जानकारीहरू हेरेर खुशी हुने गरेका छन्।

यसै क्रममा गुजरातबाट आएका पर्यटकहरू र आसामबाट आएका विद्यार्थीहरूका समूहले पत्रकारहरूसित कुराकानी गर्दै खुशी व्यक्त गरेका छन्। पर्यटकहरूले यहाँ आएर नेताजी सुवासचन्द्र बोससित सम्बन्धित ऐतिहासिक कुराहरू जान्न पाएको यस ठाउँमा आएर खुशी महसुस भएको बताउँदै आफुहरू फेरि आउने पनि बताएका छन्।









