
चकमन्न छ पहाड़ अहिले
मानो मुर्दा शान्ति छाएको छ
दासत्व अंगालेर लम्पसार परेको छ
उन्मुक्तिका हिमायती
झोलामा सुक्खा रोटी बोकेर
जुलूसमा नारा भट्याउने
रणबीर, साइँला, अन्तरेहरू
यथार्थ बुझेर हो वा
कुनै छद्म वरदान पाएर
या त अली बाबाको खजाना देखेर
चुपचाप चुपचाप छन्
अनि कोही बेरोजगारीको धब्बा मेटाउन
दिल्ली, बैंगलोर, कता कता
कोही यतै भट्टी पसलतिर
माटो नपाएको गुनासो
जिउने बाटो नपाएको दु:खेसो बिसाउन
सोमरससित मितेरी लाउँदै
मन्द विषको दहमा पौडिँदैछन्
कोही कोही भने केही हुन्छ कि
केही गर्छ कि भन्दै यतै छन्
र कहिलेकाहीँ अचानक
ब्युँझे जस्तो गरी
अली बाबाको भजन गाउँछन्,
खै, के भयो-भयो
रणमती, साइँली र अन्तरीहरूलाई पनि
कुन शक्तिको वशमा परेर हो
के कस्तो मोहनी लागेर हो
घोक्रो फुलाई-फुलाई अचेल
जुलूसको अघि-अघि हिँडेर
‘व्ही वान्ट गोर्खाल्याण्ड‘ भन्नै छोडे
लाग्छ- पक्कै पनि कसैले
कालो जादू गरेकै हुनुपर्छ
दन्ते मोहनी लाएकै हुनुपर्छ
र त पहाड़ चकमन्न छ
तर अर्को मनले भन्छ-
कतै यो आँधी आउनु अघिको
चकमन्नता त होइन?
चकमन्नता खतरनाक पनि हुनसक्छ
विध्वंसक पनि बन्नसक्छ
एउटा अनुत्तरित प्रश्न
उठिरहन्छ विदीर्ण मनमा
पहाड़ साँच्चै सुतेको हो कि
बनावटी शान्तिको सिरक ओढेर?
पहाड़ साँच्चै मरेको हो कि
दासत्वको जूठो भोजन खाएर?
पहाड़ साँच्चै कठ्याङ्ग्रिएको हो कि
लम्पसारवादको शीतमाथि तेर्सिएर?
जवाब छैन,किनकि चकमन्न छ पहाड़।l









