सीबीआइ जाँचको माग
गान्तोक: नाम्ची महाविद्यालयका छात्र नेता पदम गुरुङको रहस्यमय मृत्यु सम्बन्धमा गठित जस्टिस जैन जाँच समितिको रिपोर्टमा भारतीय जनता पार्टीले असन्तुष्टि जाहेर गरेको छ। पार्टीले सूचनाको अधिकार ऐन मार्फत जैन समितिको रिपोर्ट प्राप्त गरेको दावी गर्दै उक्त रिपोर्ट सन्तोषजनक नरहेको बताएको छ। आज राजधानीमा पत्रकार सम्मेलन डाकेर सिक्किम प्रदेश भाजपाले पदम गुरुङ मृत्युकाण्डको सीबीआइ मार्फत जाँच गरिनुपर्ने माग उठाएको छ। पार्टीका प्रवक्ता डा. कमल अधिकारीकाअनुसार जस्टिस जैन समितिले राज्य सरकारालई बुझाएको रिपोर्टमा प्रश्न उठ्ने धेरै ठाउँ रहेको छ। उनको भनाइअनुसार रिपोर्टमा धेरैजना प्रमुख साक्षीहरूको बयानलाई बेवस्ता गरिएको छ भने तथ्यहीन बयानहरूलाई महत्व दिइएको छ। त्यसैले यस घट्नाको सीबीआइ जाँच हुनपर्ने उनले माग गरेका छन्।
उल्लेखनीय छ, गत २७ जूनको राति नाम्चीमा पदम गुरुङको रहस्यमय मृत्यु भएको थियो जसको जाँच गर्न राज्य सरकारले अवकाशप्राप्त न्यायाधीश एनके जैनको अध्यक्षतामा एकल न्यायिक जाँच समिति गठन गरेको थियो। गत १ नोभेम्बरको दिन जैस्टिस जैन समितिले आफ्नो रिपोर्ट राज्य सरकारलाई बुझाएको थियो जसमा पदम गुरुङको मृत्यु लड़ेर भएको बताइएको छ। पदम गुरुङको परिवारले पहिले नै यस रिपोर्टमा असन्तुष्टि जाहेर गरिसकेको छ।
जस्टिस जैनको रिपोर्टमा विशेष गरेर तीनजना युवतीको बयानलाई कुनै महत्व नदिइएको सिक्किम प्रदेश भाजपाको भनाइ रहेको छ। उक्त रिपोर्टमा आफूहरूलाई घट्नाको साक्षी बताउने तीनजना युवतीको बयान पनि रहेको जसमा उनीहरूले एक व्यक्तिले घुस्सी प्रहान गर्दा पदम गुरङ ठाउँको ठाउँमै ढलेको स्पष्ट बताएको तर त्यस बयानलाई कुनै महत्व नदिइएको प्रवक्ता डा. कमल अधिकारीको भानइ रहेको छ। “न्यायिक जाँच समितिको रिपोर्ट सन्तोषजनक छैन। त्यसैले जबसम्म सीबीआइ मार्फत यस घट्नाको स्वतन्त्र जाँच हुँदैन तबसम्म स्व. पदम गुरुङ अनि उनको परिवारले न्याय पाउनेछैन”, उनले भने।









