मुख्यमन्त्री अनि मुख्य न्यायाधीशद्वारा सिक्किम उच्च न्यायालयको नयाँ भवनको शिलान्यास

IMG-20231201-WA0171.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमादरले सोकेथाङमा निर्माण हुनलागेको सिक्किम उच्च न्यायालयको नयाँ भवनको शिलान्यास गरे। सिक्किम जुडीसियल अकादमीमा आयोजित शिलान्यास कार्यक्रममा मुख्य अतिथिकोरुपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस विश्वनाथ सोमादर, सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्री सञ्जीत खरेल, विधायक जीटी ढुंगेल, सिक्किम उच्च न्यायालयका न्यायाधीश जस्टिश मीनाक्षी मदन राई, न्यायाधीश जस्टिश भास्कर राज प्रधान अनि अन्यको उपस्थिति रहेको थियो। स्मरण रहोस, यहाँ बनिन लागेको सिक्किम उच्च न्यायालयको नयाँ भवन २.७४ ऐकर जमीनमा निर्माण हुनेछ, जसमा विभिन्न आधुनिक सुविधायुक्त दुइवटा प्रशासनिक खण्ड अनि कोर्टको खण्ड हुनेछ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीको मौलिक अधिकारको समान संरक्षण साथै सबैलाई न्याय दिनको निम्ति राज्य सरकार सँधै कटिबद्ध रहेको बताए। यसको साक्षी बनिन लागेको नयाँ भवन रहेको उनले विचार पोखे। उनले यसको निम्ति न्यायपालिकासँग सम्बन्धित सबैलाई बधाई दिएका छन्।आजको कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस विश्वनाथ सोमादरले स्वागत भाषण राखेका थिए। विश्वस्तरको पूर्वाधारको निर्माणहेतु राज्य सरकारबाट प्राप्त सम्पूर्ण सहयोगको निम्ति उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। संविधानको तीन स्तम्भ विधायिका, कार्यपालिका, न्यायपालिकाले एक साथ मिलेर अघि हिँड़े राज्यमा प्रजातन्त्र फस्टाएर अघि जाने उनले विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement