दार्जीलिङ: दार्जीलिङ प्रेस गिल्डले आफ्नो २३औं स्थापना दिवस पालन गर्दै यसपाली आगामी २१ दिसम्बरको दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवन दार्जीलिङमा पालन गर्ने निधो गरेको छ। उक्त स्थापना दिवस कार्यक्रममा नै दार्जीलिङ प्रेस गिल्डले टाइम्स अफ् इण्डियाका पूर्व रेसिडेन्ट एडिटर एवं खरसाङ निवासी केशव प्रधानलाई आफ्नो प्रथम दार्जीलिङ प्रेस गिल्ड सम्मानद्वारा विभूषित गर्ने निर्णय लिएको छ। दार्जीलिङ प्रेस गिल्डले हालसम्म आफ्नो वार्षिक सभा मात्रै गर्दै आइरहेको थियो। तर गिल्डले यसपालीदेखि आफ्नो स्थापना दिवस पनि पालन गर्ने निर्णय लिएको छ। जसबारे आज दार्जीलिङ प्रेस गिल्डका सचिव विनय शंकरले पत्रकार सम्मेलन बोलाएर विस्तृत रूपमा जानकारी गराउँदै भने, दार्जीलिङ प्रेस गिल्डको स्थापना २००० सालमा भएको थियो तर हामीले वार्षिक सभा मात्रै गर्दै आएको अनि यसपाली प्रथमपल्ट प्रेय गिल्डले स्थापना दिवस मनाउने निर्णय गरेका छौं। यसपाली हामीले २३औं स्थापना दिवस पालन गर्दै प्रथम दार्जीलिङ प्रेस गिल्ड सम्मान पनि प्रदान गर्ने र यसपाली प्रथम सम्मान खरसाङ निवासी वरिष्ठ पत्रकार केशव प्रधानलाई प्रदान गर्नेछौं।

सचिव बिनय शंकरले वरिष्ठ पत्रकार केशव प्रधान विषयमा बोल्दै भने उनी शुरुमा १९८६ सालतिर दार्जिलिङमा नै रहेर टेलिग्राफ दैनिकमा काम गर्थे अनि पछिबाट भारतको विभिन्न स्थानहरूमा काम गरेका थिए। उनले पछिबाट नेपालमा स्थान्तरण भएर माओवादी आन्दोलनमाथि पनि पत्रकारिता गरेका थिए। त्यसपछि उनी कोलकोता स्थान्तरण भएर प्रथम रेसिडेन्ट एडिटरको रूपमा कार्य गरेर अवकाशप्राप्त भएका थिए। उनलाई नै हामी प्रथम दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा सम्मानित गर्नेछौं।’









